देशैभरिका सेलेब्रिटीदेखि युवा पुस्तासम्मको समर्थन बालेनलाई , को हुन उनी..

काठमाडौं महानरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका बालेन शाहको चर्चा युवापुस्ता र सेलेब्रिटीमाझ बढी छ। युवाहरूको ठूलो जमात उनको समर्थनमा उत्रिएको छ। सामाजिक सञ्जाल बालेनकै पक्षमा देखिन्छ। प्रायः राजनीतिक विषयमा चुप लाग्ने कलाकारहरू पनि बालेनको पक्षमा बोलेका छन्। उनीहरूले खुलेरै बालेनलाई भोट मागिरहेका छन्।

कलाकारिता क्षेत्रबाहेकका चर्चित व्यक्तिहरू पनि बालेनको पक्षमा उभिएका छन्। पाइलट विजय लामाले उनको पक्षमा भोट मागेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बालेनलाई शुभकामनासमेत दिएका छन्। बालेन आफैँ पनि पेसाले इन्जिनियर तथा र्‍यापर हुन्।

अभिनेता निश्चल बस्नेत, अभिनेत्रीहरू प्रियंका कार्की, स्वस्तिमा खड्का, नम्रता श्रेष्ठ, गायिका इन्दिरा जोशी, गायकहरू राजेशपायल राई, हेमन्त शर्मालगायतले बालेनको समर्थनमा भोट मागेका छन्। अधिकांशले बालेनको घोषणापत्र मन परेको प्रतिक्रिया दिएका छन्। अभिनेता बस्नेतले फेसबुकमा बालेनको पक्षमा भोट माग्दै लेखेका छन्, ‘कसैलाई गीत मात्रै लाग्ला, धेरैलाई प्रचार मात्र। मलाईचाहिँ परिवर्तनको विगुल बजेजस्तो लाग्यो।’ बस्नेत बालेनको घोषणापत्र सार्वजनिक कार्यक्रममै उपस्थित भएका थिए।

कलाकार निर्मल शर्मा पनि सो कार्यक्रममा उपस्थित थिए। उनले पनि बालेनको पक्षमा भोट माग गरेका छन्। गायक शर्माले पनि बालेनको पक्षमा भोट माग्दै बालेनका तर्कसहितको योजनाको तारिफ गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका निम्ति मेयरका स्वतन्त्र उम्मेदवार, लोकप्रिय गायक भाइ बालेन शाहको गीत सुन्दा जति मजा आउँछ, काठमाडाैं विकासको तर्कसहितको योजना सुन्दा पनि त्यति नै मज्जा आउँछ।’

अभिनेत्री खड्का र श्रेष्ठले पनि बालेनको घोषणापत्र सामाजिक सञ्जालमा पोस्ट गर्दै भोट मागेका छन्। अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा घोषणापत्र पोस्ट गर्दै ‘भोट फर बालेन’ ह्यासट्याग प्रयोग गरेकी छिन्। यता गायक राईले बालेनसँगको फोटो फेसबुकमा पोस्ट गर्दै शुभकामना दिएका छन्।

त्यसो त बालेनलाई समर्थन गर्नेहरूमध्ये कतिपय काठमाडौंभन्दा बाहिरका भोटरहरू पनि छन्। काठमाडौंबाट मतदान गर्न नपाउनेहरूले बालेनलाई भोट मागेर सहयोग गरिरहेका भन्दै कटाक्ष गर्नेहरू पनि छन्। सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर बालेनको प्रचारप्रसार गरिएको छ। नेतृत्व तहमा नयाँ पुस्तालाई पुर्‍याउन युवा र स्वतन्त्र क्षेत्रका व्यक्तिहरूले बालेनको समर्थन गरिरहेका छन्।

स्वतन्त्र ढंगले उम्मेदवारी दिएका बालेन शाह जित्ने दाबीसहित प्रचारप्रसारमा लागेका छन् । आफूले ९० हजारभन्दा बढी भोट ल्याउने उनले किटान गरेरै बताएका छन्। तर, कतिपय भने सामाजिक सञ्जालको चर्चा र भिड हुँदैमा भोट आउँछ भन्न नमिल्ने तर्क गर्छन्। यद्यपि, बालेनले काट्ने भोटको संख्यालाई नजरअन्दाज गर्न नसकिने विश्लेषकहरूको भनाइ छ। ०७४ सालको चुनावमा तत्कालीन विवेकशील दलकी रञ्जु दर्शनाले आमअनुमानविपरीत २३ हजार चार सय ३९ मत पाएकी थिइन्। बालेनले पनि सोही हाराहारीमा मत प्राप्त गर्न सक्ने कतिपयको आकलन छ। बालेन भने आफू विजयी हुनेमा विश्वस्त देखिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय