४ कम्पनीको साधारण सभा हुँदै, आइपिओ निष्कासन गर्ने मुख्य एजेन्डा

विभिन्न ४ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये ३ कम्पनीकाे वार्षिक साधारण सभा र एउटा कम्पनीकाे विशेष साधारण सभा हुन लागेकाे हाे ।

साधारण सभा हुन लागेका ४ कम्पनीमध्ये २ कम्पनीकाे लभांश प्रस्ताव रहेकाे छ । लाभांश प्रस्ताव भएकाे २ वटा कम्पनीहरूमध्ये दुवै वटा कम्पनीकाे बुकक्लाेज भइसकेकाे छ ।

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :
१. एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्ताइसाैँ वार्षिक साधारण सभा वैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १२ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, वैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड
सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पच्चीसाैँ वार्षिक साधारण सभा वैशाख २८ गते, बुधबार, लैनचाैर ब्याङ्क्वेट, लैनचाैर, काठमाडाैँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले, वैशाख १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथोँ वार्षिक साधारण सभा वैशाख २३ गते टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेकाे थियाे । यसअनुसार वैशाख १२ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् । सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने/गाभिने लगायतका प्रस्तावहरू पारित गरिनेछन् ।

४. युनियन हाइड्रोपावर कम्पनी लिमिटेड
युनियन हाइड्रोपावर कम्पनी लिमिटेडकाे विशेष साधारण सभा वैशाख २३ गते, कम्पनीकाे रजिष्टर्ड कार्यालय, धाेबीघाट, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे प्रबन्धपत्रकाे दफामा संशाेधन गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय