भरतपुरमा मतगणना स्थलकाे थप कडाइ : फलामको बार, बलियो तारजाली

चितवन – भाेलि शुक्रवार हुने चितवनको भरतपुर महानगरपालिकाकाे मतगणना स्थलमा फलामको बार र तरजाली लगाइएको छ । गएकाे पालिका चुनावमा मतपत्र च्यातिएको घटनाका कारण यस पटक भरतपुरको मतगणना स्थलकाे सुरक्षामा विशेष ध्यान दिइएकाे छ ।

भरतपुरलाई राजनीतिक दलहरूले प्रतिष्ठाको विषय नै बनाएका छन् । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा छ । विगतमा मतगणना स्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणना स्थलमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ ।

आयोगले मतगणना स्थलमा अनिवार्य सीसी क्यामराको व्यवस्था गर्न निर्देशन पनि दिएकाे छ । यसपालि भरतपुर महानगरपालिकाको मतगणना चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।

प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणनाका लागि व्यवस्थापन गर्ने काम धमाधम भइरहेको छ । दलका प्रतिनिधिले मतपत्र च्यात्न नपाऊन् भनेर मतगणना स्थलमा फलामको बार हालिएको छ । दलका प्रतिनिधि बस्ने ठाउँ छुट्टयाएर फलामको बार लगाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली पनि हालिएको बताउनुभएको छ । मतगणना स्थलमा आठ वटा सीसी क्यामरा जडान गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ । पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्, सूचना अधिकारी पाैडेलले भन्नुभयाे । २९ वटा वडा रहेको भरतपुरमा एक लाख ८५ हजार जना मतदाता रहेका छन् । यहाँ मतदानका लागि ६५ मतदान स्थल र दुई सय दुई वटा मतदान केन्द्र रहेका छन् ।

गएकाे पालिका चुनावमा मतगणनाको क्रममा भएको घटना दोहोरिन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभएको छ । भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय