अहिलेको मतगणनामा मलाई इन्ट्रेष्ट नै छैन : केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको लौरोले जादू देखाइरहँदा केशव स्थापित तेस्रोमा छन् । चुनावपूर्व ‘रिङ’ मा आफूमात्र रहेको दाबा गरेर प्रतिस्पर्धीलाई होच्याएका स्थापितले थोरै अवस्था सुधारेर सिर्जना सिंहलाई पछि त पारेका छन् तर बालेनसँगको अन्तर घटाउन सकेका छैनन् । र, प्रारम्भिक रुझानले त्यस्तो अवस्था पनि देखाउँदैन ।

पछिल्लो मत परिणाममा स्थापित बालेनभन्दा ७ हजार ११४ ले पछाडि छन् ।

बालेनसँगको प्रतिस्पर्धामा पछाडि धकेलिँदै गए पनि स्थापित आफ्नो स्थिति सुदृढ हुनेमा विश्वस्त देखिए । उनी काठमाडौंको कोर एरियाले त्राण दिनेमा ढुक्क छन् ।

यसैतर्फ संकेत गर्दै नेपालवाचसँग उनले खास प्रतिस्पर्धा हुनै बाँकी रहेको बताए । ७० प्रतिशत मतगणना हुँदा काठमाडाैं महानगरपालिकामा बल्ल प्रतिस्पर्धा सुरु हुने स्थापितको तर्क छ ।

‘प्रारम्भिक स्रारम्भिक नतिजा भन्ने पनि हुन्छ ? समग्रतामा नतिजा हुन्छ । ७० प्रतिशत मत गणना गरेपछि मात्र बल्ल कम्पिटिसन सुरु हुन्छ,’ मत परिणाममा उनको अग्रता कायम नहुनुबारे नेपालवाचले राखेको जिज्ञासामा उनले भने ।

एमाले प्रभाव रहेका केही वडामा मत नपाए पनि बाँकी वडामा भने त्यस्तो नहुने आशामा छन् स्थापित ।

तर यसबारे उनी बोल्न चाहेनन् । यति भने, ‘जनताले भोट हालिसक्या छन् । मेरो आकलन मलाई थाहा छ ।’

मतगणना भर्खर सुरु भएकाले यसप्रति आफ्नो रुचि नै नरहेको र घरमा आराम गरी बसेको उनले सुनाए । ७० प्रतिशतमा पुग्दा रमाइलो मान्नुपर्नेमा अहिले नै हतारो गरिएको उनकाे भनाइ छ ।

‘अहिलेको मतगणनामा मलाई ‘इन्ट्रेस्ट’ नै छैन । ७० प्रतिशत भएपछि बल्ल मज्जा आउँछ । रमाइलो हुन्छ । १० प्रतिशतमा के रमाइलो मान्नु । जरा भर्खर हालेको छ । यो फैलन पाएन भने मर्छ । जरालाई बढ्न दिनुपर्यो नि,’ उनले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय