सूर्जेकुमारी अर्थात् करिश्मा जुन पार्टी पस्यो, त्यो पार्टी सखाप

काठमाडौं – स्थानीय तहको निर्वाचनको मुखैमा अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरिन् ।

पार्टीका उम्मेदवारलाई जिताउन उनी घरदैलो अभियानमा लागिन् । विभिन्न जिल्लामा पुगेर एमालेका उम्मेदवारका लागि भोट मागिन्।

तर, आफ्नै घर भएको ललितपुरको गोदावरी नगरपालिका र वडामा समेत एमालेका उम्मेदवार पराजित भए । करिश्मालाई पार्टीमा ल्याएपछि अध्यक्ष केपी ओलीले गोदावरीमा पार्टीका उम्मेदवारले जित निकाल्ने अपेक्षा गरेका थिए ।

तर, त्यस्तो भएन । १४ वटा वडा नम्बर भएको गोदावरी नगरपालिकामा एमालेले एउटा मात्र वडा जित्न सक्यो । कांग्रेसले ११ वटा र माओवादी केन्द्रले दुईवटा वडा जित्यो । आफ्नै गृहनगरमा एमाले पराजित भएपछि अहिले करिश्मा फेरि चर्चामा आएकी छन् ।

एमालेको चुनावी सभामा गएर आफू पार्टी प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनेकी थिइन्– न्वारनको मेरो नाम सूर्जेकुमारी हो । एमालेको चुनाव चिह्न पनि सूर्य नै हो ।

त्यही भएर अहिले सूर्जेकुमारी कता छिन् भनेर उनको खोजी सुरु भएको हो । अहिले भन्न थालिएको छ, करिश्मा जुन पार्टीमा जान्छिन्, त्यो पार्टी भताभुंग हुन्छ ।

कलाकारितासँगै ०७२ सालमा डा.बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीमा करिश्मालाई केन्द्रीय नेता बनाइएको थियो ।

बाबुराम र करिश्माले सँगै मञ्च सेयर गरेर धेरै जिल्लामा भाषण गरे । तर, अहिले बाबुराम र करिश्मा एउटै पार्टीमा छैनन् । पार्टी गठन भएको एक वर्ष नबित्दै दुईबीच मनमुटाव सुरु भएको थियो । पछि पछि करिश्मा नयाँ शक्ति पार्टीमा निष्क्रिय रहिन् ।

पार्टी गतिविधिमा जानै छाडिन् । बाबुरामले पनि वास्ता गरेनन् । पछि त बाबुरामले नयाँ शक्ति नै संघीय समाजवादी पार्टीमा समाहित गरे ।

अहिले एमालेको हालत पनि त्यस्तै त हुने होइन भन्ने आशंका गर्न थालिएको छ । किनभने एमालेले स्थानीय निर्वाचनमा सोचे जस्तो नतिजा हासिल गर्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय