सम्पत्ति त्यागेर वृन्दावन जान दुर्गा प्रसाईंले राखे नयाँ शर्त

काठमाडौ ।निर्वाचन अघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एउटा पनि सिट जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने घोषणा गरेका नेकपा एमालेका नेता दुर्गा प्रसाईंले चुनावको परिणाम आए पछि भने आफ्नो बोली फेरेका छन् । माओवादी स्थानीय निर्वाचनमा तेस्रो शक्ति र एकीकृत समाजवादी पाँचौँ शक्ति बनिरहँदा प्रसाईंले टेलिभिजन कार्यक्रम ग्ल्यामर गफमा कुराकानी गर्दै आफू वृन्दावन जान नपर्ने भएको बताएका हुन् ।

गत ३० वैशाखको निर्वाचन अगाडि भक्तपुरको एक कार्यक्रममा बोल्दै प्रसाईंले स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पार्टीले एउटा पनि सिट जिते पुरै सम्पत्ति ती पार्टीले इच्छ्याएका व्यक्तिको नाममा दिने घोषणा गरेका थिए ।



टेलिभिजन कार्यक्रमका सञ्चालक प्रकाश सुवेदीले प्रसाईंलाई उक्त भाषणको छोटो भिडियो देखाउँदै ‘कहिले वृन्दावन जाने ?’ भनेर प्रश्न राखेका थिए । जवाफमा प्रसाईले आफूले गठबन्धन नगरी ती पार्टीहरूले एक्लै चुनाव सिट ल्याउन सो चुनौती दिएको स्पष्ट पारे । ‘प्रचण्ड र नेपालको पार्टीले एक्लै लडेर, गठबन्धनको वैशाखी नटेकिन देशभरि एउटा मात्र सिट ल्याउन मैले भनेको थिएँ,’ प्रसाईंले भने ‘गठबन्धन गरेर होइन ।’

उनले थपे, ‘मैले प्रचण्ड र नेपालको पार्टीले एक्लै लडेर देशभरि एउटा पनि सिट ल्याउन नसक्ने उनको दाबी गर्दै व्यवसायबाट संन्यास लिएर वृन्दावन जाने बताएको थिएँ । अहिले पनि चुनाव रद्द गरेर एक्लै लडेर एक सिट ल्याओस् । म सबै राजनीति र व्यवसायबाट सन्यास लिएर वृन्दावन जानेछु ।’ प्रसाईंले यस्तो दाबी गरिरहँदा एकीकृत समाजवादीले गठबन्धन बिनै रौतहटमा गौर नगरपालिका जितेको छ भने माओवादीले काँग्रेस–एमालेको गठबन्धनलाई नै पराजित गर्दै रुकुममा जीत हासिल गरेको छ । प्रस्तोता सुवेदीले प्रसाईंलाई उनको सल्लाहकार गलत रहेको भन्दै भाषण लेख्ने व्यक्तिको विषयमा समेत सोधेका थिए । जवाफमा प्रसाईंले सो भाषण आफैले लेखेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय