पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता हुने: मन्त्री बडु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताउनुभएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकारआबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत १५ विद्यार्थी संगठनले बुझाएकोे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री वडुले उक्त जानकारी दिनुभएको हो । विद्यार्थी संगठनले आज बुधबारभित्र मूल्यवृद्धि फिर्ता गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

मन्त्री वडुले मूल्यवृद्धिको विषयमा चाँडै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संगठनलाई आन्दोलन नगर्न आग्रह पनि गर्नुभएको थियो । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले नेपाल समाचारपत्रलाई मन्त्री वडुले विद्यार्थीलाई ग्यासमा सहुलियत दिने र पेट्रोलियम पदार्थमा कर फिर्ता लिने विषयमा चाँडै नै सरकारले निर्णय गर्ने बताउनुभएको जानकारी दिनुभयो।

विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मटीतेलमा विद्यार्र्थीहरूलाई सहुलियत दिन माग गरेका छन् । विद्यार्थी संगठनले मूल्य फिर्ता नभए भोलि बुधबार नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । आयल निगमले गत वैशाख ३१ गते पेट्रोल र डिजेलमा प्रति लिटर १० रुपियाँ र एलपी ग्यासमा प्रति सिलिन्डरमा २ सय रुपियाँ वृद्धि गरेको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय