जनता टेलिभिजनले ‘आईपीओ’ जारी गर्ने

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर (आईपीओ)जारी गर्ने भएको छ । विहीबार जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेडबीच शेयर कारोबार र आईपीओ जारी गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

उक्त सम्झौता–पत्रमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका सञ्चालक समिति अध्यक्ष डा. विजयकुमार पौडेल र ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले जनता आईपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको शुरुवात हुने बताउँदै यसले ‘लगानीकर्ताहरुले व्यक्तिगत लाभ र उद्देश्य प्राप्तिका लागि मात्र मिडियामा लगानी गर्छन्’ भन्ने जनगुनासोको समेत अन्त्य हुने विश्वास ब्यक्त गरे ।

त्यस्तै ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ढकालले नेपालको शेयर बजारमा मिडिया क्षेत्रको आईपीओ पहिलोपटक जारी हुन लागेको बताए । यसले नेपालको शेयरबजारमा नयाँ प्लेटफर्म भित्रिने र सर्वसाधारण शेयर लगानीकर्ताहरुले समेत नयाँपनको अनुभूति गर्न पाउने उनको भनाइ छ । यसका साथै नेपाली शेयर बजारमा नयाँ काम थालनीमा साझेदार हुन पाएकोमा उनले खुशी व्यक्त गरे ।

यता जनता टेलिभिजनका समाचार प्रमुख टंक पन्तले दक्षिण एशियाकै सामुदायिक टेलिभिजन आईपीओमा जाने भएपछि धेरै क्षेत्रबाट सुभेक्षा प्रकट भएको भन्दै सो अनुसार आईपीओमा जाने प्रक्रिया छिट्टै व्यवहारिक रुपमा लागू हुने विश्वास व्यक्त गरे ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडले हाल जनता टेलिभिजन एचडी, रेडियो जनता ८९.१, जनता समाचार डटकम र जनता प्रकाशन सञ्चालन गर्दै आएको छ । यस लिमिटेडमा करिब १२ सयभन्दा बढी सर्वसाधरण शेयरधनीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय