काठमाडौंमा झन्डै १४ हजार भोट ल्याएका सुमन सायमिले भने- बालेनले मिलेर काम गरौं भनेका छन्

काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई र शुभकामना दिन उनका एक प्रतिद्वन्द्वी सुमन सायमि शुक्रबार बिहानै सभागृह पुगेका थिए।

काठमाडौंको नेवा भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा लामो समयदेखि आन्दोलन गर्दै आएका सायमि मेयरका एक स्वतन्त्र उम्मेदवार हुन्। उनी आँखीझ्याल (तिकिझ्याः) चिह्न लिएर उठेका थिए। उनले १३ हजार ७ सय ७० मत ल्याए।

आफूसँगै प्रतिस्पर्धामा सामेल सायमि शुभकामना दिन आएपछि बालेनले आफ्नो विजय जुलुसमा सहभागी हुन आग्रह गर्दै भने, ‘हामी दुवै स्वतन्त्र उम्मेदवार। तपाईं र मेरो उद्देश्य पनि एउटै। आउनुस् विजय जुलुसमा सँगै हिँडौं।’
सायमि एकछिन अलमलमा परे।

उनी सभागृह जानुको अर्को कारण पनि थियो। चुनावमा कुन ठाउँबाट आफूलाई कति मत आयो भन्ने विस्तृत विवरण लिन उनी त्यहाँ पुगेका थिए। बालेनले आग्रह गरेपछि नाइँ भनेनन्। बालेनसँगै गाडीमा चढेर उनको विजय जुलुसमा सहभागी हुँदै सहर परिक्रमा गरे।

यसरी मेयरका विजयी र पराजित उम्मेदवार एउटै गाडीमा सँगसँगै सवार तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो। धेरैले बालेन र सायमिको सौहार्द सम्बन्धको तारिफ गरे। कतिपयले काठमाडौंलाई राम्ररी चिनेका र यहाँको स्थानीय मुद्दा उठाउँदै आएका सायमिसँग बालेनले सहकार्य गरेर अघि बढ्नुपर्ने राय पनि दिए।

विजय यात्रा क्रममा सायमिले पनि बालेनले जस्तै शिरमा भादगाउँले टोपी र घाँटीमा माला लगाएका थिए। माला बालेनले नै लगाइदिएको सायमि बताउँछन्। टोपी भने दुवैलाई अर्को साथीले लगाइदिएका थिए।

‘तिमीहरू दुवै टोपी लगाऊ भनेर एक जनाले दिनुभयो। मैले कहिल्यै टोपी लगाएको थिइनँ। सुहाउँदैन जस्तो लाग्थ्यो। तर सम्मान गरेर लगाइदिएको कुरा नाइँ भन्न सकिनँ,’ उनले भने, ‘चुनाव बेला हामी प्रतिस्पर्धी भए पनि बालेन अब जनमतले पारित गरेका जनताका प्रतिनिधि हुन्।’

आफूले नजिते पनि आफ्नो जस्तै उद्देश्य र मुद्दा भएको मान्छेले जित्दा खुसी भएको सायमि बताउँछन्।

‘हामी राम्रो कामका लागि हिँडेको मान्छे, राम्रो काम गर्नेलाई सधैं साथ दिन्छौं। नराम्रो गर्‍यो भने ऊविरूद्ध उभिन र छुट्टिन पनि सक्छौं,’ उनले भने।

बालेन शाह स्वतन्त्रबाट उठ्दा धेरैले उनलाई ठूला दलको भोट काट्न आएको भनेका थिए। त्यस बेला उनले जवाफ दिएका थिए, ‘हो म भोट काट्न आएको हो। कांग्रेस र एमाले दुवैको भोट काट्न आएको। जित्न आएको हो।’

सुरूदेखि अग्रता लिँदै आएका बालेन बिहीबार ६१ हजार ७ सय ३७ मतसहित मेयरमा निर्वाचित भए। सायमि भने चौथो भए। उनले सदर मतको ८.६१ प्रतिशत पाए। दस प्रतिशत नपुगेकाले उनको जमानत जफत भयो।

सायमिले बालेनले जसरी भोट काट्न आएको भनेका थिएनन्। तर काठमाडौंको भित्री क्षेत्रमा एमाले र कांग्रेसको भोट बालेनले भन्दा बढी सायमिले काटे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय