सबै बैठकहरु लाइभ गर्छु, कसैले विरोध गरे जनताले आँफै देख्छन् : बालेन साह

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे ।

‘र्यापरको’ को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन् ।

संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ । माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार स्थानीय तहका क्षेत्राधिकारभित्र पर्दछन् । जनप्रतिनिधिमा इच्छाशक्ति भएमा छोटो समयमै स्थानीय तहले ठूलो फड्को मार्न सक्छन् भन्ने उदाहरण प्रशस्तै छन् । प्रमुखमा निर्वाचित ३२ वर्षीय साहसँग काठमाडौँ महानगरको समग्र विकासका बारेमा राष्ट्रिय समाचार समितिका समाचारदाता अशोक घिमिरे र शर्मिला पाठकले गर्नुभएको कुराकानीको सम्पादित अंश :

काठमाडौँको प्रमुखका रुपमा निर्वाचित हुनुभयो, तपाईंका योजना र प्राथमिकता के–के हुन् ?

शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । विद्यार्थीलाई भर्ना गर्नु अगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौँ ।

पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ । प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रिया बारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ ।

यसले गुरु र शिष्य बीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँ जाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं । काठमाडौँ उपत्यकाको इतिहास, संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यानका बारेमा बालबालिकाले सजिलो तरिकाले बुझ्ने गरी पाठ्यक्रम बनाउँछौँ ।

यसले गर्दा भोलिका दिनमा देश तथा विदेशबाट आएका पर्यटकसँग भेट हुँदा बालबालिकाले कला, संस्कृति, इतिहासका बारेमा सम्पूर्ण जानकारी दिन सकून् । उदाहरण भक्तपुरलाई लिन सकिन्छ । भक्तपुर नगरपालिकाका बालबालिकालाई त्यहाँको इतिहास, कला, संस्कृति, बाजागाजा, खानपिनका बारेमा जानकारी छ । प्रत्येक व्यक्ति यहाँको कला, संस्कृति र इतिहासका बारेमा जानकार हुनुपर्छ ।

महानगरले यसअघि बनाएको पाठ्यक्रमले यी विषय समेट्न सकेनन् भन्ने हो ?

यसअघिका पाठ्यक्रमले धेरै कुरा समेट्न सकेको छैन । लिखित रुपमा भए पनि त्यसलाई व्यवहारमा व्याख्या गर्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ । यहाँको कला संस्कृति, सांस्कृतिक वैभवका बारेमा बुझ्न धेरै पुस्तक छन् । तर त्यो विषयलाई व्याख्या गर्नसक्ने जनशक्ति छैनन् ।

प्राविधिक रुपमा पनि शिक्षाको गुणस्तर बढाउने योजना अगाडि सारेका छौँ । मोबाइलमा ‘भिडियो च्याट’ गरेर मात्र अनलाइन कक्षा हुँदैन, यसले शैक्षिक स्तर बढाउँदैन । प्रविधि तीव्ररूपमा परिवर्तन भइरहेको छ । ‘थ्रिडी भिजुअलाइज’ मार्फत उदाहरण देखाउँदै पढाउन थालियो भने विद्यार्थीले सजिलै बुझ्न सक्छन् ।

अहिले शिक्षा भार जस्तो भएको छ । विद्यालय जान गाहे मान्ने अवस्थाको अन्त्य गरी रमाइलो तरिकाले हाँस्दै खेल्दै सिक्ने वातावरण बनाउने हो । साताको एक दिन पाठ्यक्रमभन्दा बाहिर विद्यार्थीलाई रुचि लागेका विषयका बारेमा अन्तरक्रिया गराइनेछ ।

कसैलाई रोबर्ट बनाउन, कसैलाई गीत गाउन, नाच्न, कसैलाई नाटक खेल्न मन पर्ला । साताको एक दिन त्यो अतिरिक्त क्रियाकलाप गरियो भने यसले विद्यार्थीको सम्भावना प्रस्फुटित हुन्छ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा पनि सहयोग पुग्न सक्छ । विद्यार्थीलाई आफैँ सक्षम बनाउने हाम्रो उद्देश्य हो ।

पूर्वाधार र विद्यार्थी नभएका सामुदायिक विद्यालयलाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?

पूर्वाधार र विद्यार्थी नभएका विद्यालयलाई ‘मर्ज’ गर्छौं । कतै खेल मैदान छैनन्, कतै पर्याप्त कक्षाकोठा छैनन् । त्यसलाई मर्ज गराएर त्यहाँका विद्यार्थी र शिक्षकलाई व्यवस्थापन गर्न सक्छौँ । सामुदायिक विद्यालयको जथाभावी मर्ज गर्यौं भने निजी विद्यालयलाई प्रश्रय दिएको जस्तो हुन्छ तर आवश्यकताका आधारमा मात्रै मर्ज गर्छौं । निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने अवस्था बनाउने हाम्रो चाहना हो ।

‘थ्रिडी भिजुअलाइज’ गरी पढाइने भन्नुभयो, अत्यन्त न्यून आयस्तर भएका बालबालिकालाई कसरी प्रविधिको पहुँचमा पुर्याउनुहुन्छ ?

मोबाइल र प्रविधि विद्यार्थीले किन्ने होइन, त्यो विद्यालयले उपलब्ध गराउँछ । १ देखि १० कक्षासम्म नै ‘थ्रिडी भिजुअलाइज’ गर्ने भनेको होइन । सुरुमा १० कक्षालाई मात्र सकिएला । १० कक्षासम्म आइपुग्दा उनीहरु प्रविधिमैत्री भइसकेका हुन्छन् । विद्यार्थीलाई आउँदैन, सक्दैन भनेको त्यो विद्यार्थीको कमजोरी होइन, त्यो शिक्षकको गल्ती हो । विद्यार्थीले ‘होमवर्क’ गरेन, विद्यार्थी बिग्रियो, समयमा विद्यालय आएन, परीक्षामा उत्तीर्ण हुन सकेन भने त्यो शिक्षकको गल्ती हो । यसमा विद्यार्थी र अभिभावकको कुनै दोष हुँदैन । विद्यालय, विद्यालयको संस्कार र शिक्षक सुधारिनुपर्छ ।

आगामी पाँच वर्षसम्म तपाईंले महानगरको नेतृत्व गर्दा यहाँको शिक्षाको स्तर कस्तो हुन्छ ?

पहिलो कुरा आम मानिसको मनोविज्ञान शैक्षिक पूर्वाधार नै पहिलो शर्त हो भन्नेछ । अभिभावकका तर्फबाट विद्यालयमा लिफ्ट छ कि छैन भन्ने हेर्ने हुन्छ । तर लिफ्टले पढाइलाई कुनै सहयोग गर्दैन । त्यो कुरालाई विस्तारै परिवर्तन गर्दै लैजान्छौँ । विद्यालयको शौचालय, बगैँचामा निकै सुधार गर्न सक्छौँ । कक्षाकोठा र शौचालय अपाङ्ग मैत्री बनाउन सकिन्छ । छात्राका लागि आवश्यक सेनेटरी प्याड लगायतको व्यवस्था गर्न सकिन्छ ।

आन्तरिक सजावट तथा व्यवहारको दृष्टिकोणबाट कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बसौँ बसौँ, पढौँ पढौँ लाग्ने बनाउन सकिन्छ । विद्यालयमा सकारात्मक वातावरण बनाउन आवश्यक बजेट छुट्याउँछौँ र प्रभावकारी अनुगमन पनि गर्छौं ।

स्वास्थ्य सेवालाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?

महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्छौँ । वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राख्छौँ । वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं । कम्तीमा ६ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउँछौँ ।

यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ । यस्तै पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना छ । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौँ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनसक्छ ।

नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यानको निर्माण गर्छौं । उद्यानमा पुगेर शारीरिक अभ्यास गर्न सकिन्छ । शारीरिक सक्रियता मार्फत रक्तचाप र मधुमेह नियन्त्रणमा लिन सहयोग पुग्छ भनेर चिकित्सकहरुको भनाइ छ । उद्यानमा बिहान बेलुकी हिँड्न, कुद्न पायो भने निश्चय नै त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यससँगै सरकारी अस्पतालमा सुविधा बढाउने योजना अगाडि सारेको छु । विशेषज्ञ चिकित्सक यहाँ काम नपाएर विदेशिने अवस्था छ । त्यसलाई रोक्न के कस्ता सुविधा दिने भन्ने बारेमा छलफल गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय