हराइरहेको जहाज फेला परेको सेनाको भनाइ

काठमाण्डाै – हिजोदेखि हराइरहेको तारा एअरको जहाज फेला परेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताउनुभएको छ ।



मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भने जहाजको अवस्थाबारे पूर्ण जानकारी थाहा हुन नसकेको उज्यालोलाई बताउनुभयो । मानापाथी हिमाल र निलगिरि हिमालतर्फ खोजी केन्द्रित गरिएको र जहाजको अवस्था छिटै थाहा हुने उहाँको भनाइ छ ।



खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।

हिजो दिनभर हेलिकप्टर र स्थलमार्गमार्फत खोजी भइरहे पनि जहाजको अवस्था थाहा हुन सकेको छैन । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको तारा एअरले जनाएको छ ।



हराइरहेको जहाज खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल माैसमका कारण हेलिकप्टर फेरि जोमसोम फर्किएको थियो । हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय