सेनाले नभेटाएको सम्पर्कविहीन जहाज यार्सागुम्बा खोज्नेले भेटे

काठमाडौं । पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको तारा एयरको ट्वीन ९ एनएईटी विमान आइतबार बिहानदेखि सम्पर्कविहीन भयो ।

आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट उडेको विमान केही समयमै सम्पर्कविहीन भएको थियो । १०ः१७ मा अवतरण गर्ने भनिएकोमा सो विमान १०ः११ पछि सम्पर्कविहीन भयो ।

जहाज सम्पर्कविहीन भएपछि तीनै सुरक्ष निकायले हिजो (आइतबार) दिनभर खोज्यो । तर, भेटेनन् । विमान हराएपछि तत्काल खोजीकार्यको लागि जोमसोम विमानस्थलबाट फिस्टेल एयर र पोखरा विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रमा खोजीका लागि निस्केको थियो ।

सुरुवातमा जोमसोमबाट उडेको फिस्टेल विमान मौसम खराबीले फर्केको थियो । पछि नेपाली सेनाको हेलिकोप्टर मध्यकमान्ड पोखराका कमान्डपति उपरथि बाबुराम श्रेष्ठ नेतृत्वमा निस्केको थियो । हेलिकोप्टर मौसम खराबका कारण त्यहाँ पुग्न अवतरण हुन सकेन ।

आइतबार दिउँसो जोमसोमबाट फिस्टेल एयरको विमान हराएको भनिएको सम्भावित क्षेत्र न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी क्षेत्रतर्फ गएको थियो । खोजीमा मौसम भने बाधक बनेको थियो ।

तर, मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको छ । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका जानकारी दिए ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिका अध्यक्ष गौचनले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले भने सेना, सशस्त्र र प्रहरीको टोली घटनास्थलमा पुगिनसकेकाले औपचारिक पुष्टि भइनसकेको जानकारी दिए ।

कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय