शुभयात्रा बाबु’- उत्सव पोखरेलका  बुबा

रुकुम पश्चिम — उत्सव पोखरेल आइतबार बिहान जोमसोम उडान गर्ने तयारीमा थिए । पोखरा रहेका उत्सवले उडान भर्नुअघि बुबालाई फोन गरे । जाजरकोट सदरमुकाममा रहेका उत्सवका बुबा मणिरामसँग उनको छोटो कुराकानी भयो । पोखरा-जोमसोम उडान गर्ने तयारीमा रहेको जानकारी उत्सवले गराए । त्यसपछि मणिरामले ‘शुभयात्रा बाबु’ भनेर आशिर्वाद थिए ।

उत्सव पोखराबाट जोमसोमका लागि उडे । मणिराम भने आफू कार्यरत जाजरकोटकै नलगाड नगरपालिकातिर गुडे । मणिराम कार्यक्षेत्र पुग्दा नपुग्दै खबर आइपुग्यो । उत्सव सहचालक रहेको तारा एयरको विमान सम्पर्कविहीन भयो भनेर । मणिराम नगरपालिकाकै व्यवस्थापनमा नेपालगञ्ज हुँदै काठमाडौं पुगे ।
आइतबार दिनभर जहाजको केही पत्ता लागेन । सोमबार बिहान जहाज दुर्घटना भएको पत्ता लागेपछि मणिरामलगायत उत्सवको परिवार मात्रै होइन‚ गाउँ नै शोकमा डुबेको छ । ३० अप्रिल २०२१ देखि उनी तारा एयरमा जोडिएर काम गर्न थालेका उनले एक वर्षदेखि विमान उडाइरहेका थिए ।

२५ वर्षीय उत्सव चौरजहारी नगरपालिका ३ का स्थायी बासिन्दा हुन् । चौरजहारी क्षेत्रका पहिलो पाइलट उत्सवको निधनले चौरजहारीसहित सम्पूर्ण जिल्ला नै स्तब्ध बनेको छ । ‘जे नहोस् भन्ने चाहेका थियौं, त्यही भयो,’ बाबु-छोराको टेलिफोन संवाद प्रत्यक्ष सुनेका नलगाड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भने, ‘लाउड स्पिकरमा बाबु-छोराको संवाद सुनेको हुँ । उत्सवले उडान छ भनेपछि मणिराम सरले शुभयात्रा बाबु भन्नुभयो बुबाको त्यो आशिर्वाद नै अन्तिम भइदियो ।’

मणिराम र मानबहादुर जाजरकोट सदरमुकामको एउटा होटलमा सँगै बसेका थिए । ‘सानैदेखि पाइलट बन्ने योजना रहेको भाइ पाइलट पनि बन्यो’ नाताले उत्सवका दाइ पर्ने दिवश पोखरेलले भने, ‘तर‚ हामी सबैलाई रुवाएर कता उड्यो उड्यो ।’ तालिकाअनुसार उत्सव विभिन्न ठाउँ उड्थे । नेपालगञ्ज-हुम्ला, नेपालगञ्ज-डोल्पा, नेपालगञ्ज-रुकुम पश्चिम, नेपालगञ्ज-काठमाडौं, पोखरा-नेपालगञ्ज, नेपालगञ्ज-जोमसोम सबैतिर उनले उडान भर्थे ।

उत्सवले फिलिपिन्सबाट पाइलट कोर्स गरेका थिए । १० कक्षासम्म चौरजहारी अध्ययन गरेका उनले प्लस टुको अध्ययन काठमाडौंमा गरेका थिए । उत्सवले उडान गर्न थालेपछि उनका दाइ उमेश पनि पाइलट कोर्स गरिरहेका छन् । बुबा मणिराम र आमा उषाका दुई छोरा मात्रै हुन्- उमेश र उत्सव । मणिराम जाजरकोटको नलगाड नगरपालिकामा स्रोत व्यक्तिका रुपमा कार्यरत छन् भने आमा उषा दाङको एक विद्यालयमा अध्यापन गराउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय