इम्बोस्ड नम्बर जडान गर्न कार्यालय तोकियो (नामसहित)

यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि कार्यालय तोकेको छ । आगामी साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान नभएका सवारी चलाउन नपाउने व्यवस्थासँगै इम्बोस्ड जडान गर्ने कार्यालय तोकिएको हो ।

विभागका अनुसार बागमती प्रदेशमा यातायात व्यवस्था कार्यालय (साना–ठूला सवारी) एकान्तकुना र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराबाट इम्बोस्ड नम्बरप्लेट जडान गर्न सकिनेछ ।

गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय पोखराबाट इम्बोस्ड नम्बरप्लेट जडान गर्न सकिनेछ ।

विभागका अनुसार सार्वजनिक सवारी, पर्यटन, निजी, सरकारी र संस्थानका सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्नेछ ।

हालसम्म २१ हजार सवारीमा इम्बोस्ड प्लेट

५ वर्षभित्र२५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसक्ने लक्ष्यसहित यो कार्यक्रम सुरु भएको थियो । तर, हालसम्म जम्मा २१ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बरप्लेट जडान गरिएको छ ।

२०७३ जेठ १७ मा इम्बोस्ड नम्बरप्लेट छाप्ने जिम्मा अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटुर टाइगर आइटीले पाएको थियो । कम्पनीले हालसम्म २ लाख नम्बरप्लेट छापेर विभागलाई दिईसकेको छ ।

इम्बोस्ड नम्बरप्लेट नेपाली अक्षरमा हुनुपर्ने विवाद अदालतमा पुगेपछि अदालतले २०७४ साल फागुनमा तत्काल इम्बोस्ड नम्बरसम्बन्धी कुनैपनि गतिविधि अगाडि नबढाउन आदेश दियो ।

त्यसको २ वर्षपछि २०७६ फागुनमा अदालतले रोमन लिपिमै इम्बोस्ड राख्न सकिने आदेश दिएपछि बल्ल काम गर्ने बाटो खुलेको थियो ।

त्यसलगत्तै, २०७७ साउन १ पछि जडानको काम सुरु भयो । तर, कोरोनाका कारण काम सोचे जसरी अघि बढेन ।

यद्यपी, सरकारी सवारीसाधनमध्ये ८० प्रतिशतमा इम्बोस्ड नम्बरप्लेट जडान भइसकेको विभागको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय