मन्त्रीहरु फेर्न नसकेपछि , ‘फोन अफ’ गरेर बसे माधव नेपाल

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु हेरफेर गर्ने भनेर गरेको निर्णय कार्यान्वयनमा नआउने भएको छ । खासगरी फिर्ता बोलाईएका मन्त्रीहरु नै पार्टी नेतृत्वप्रति असन्तुष्ट देखिएपछि यस्तो अवस्था सिर्जना भएको हो । अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालसँगको सल्लाहमा अहिले भएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँ अनुहार पठाउने निर्णय गरेका थिए ।

तर, फिर्ता बोलाउने भनिएका मन्त्रीहरुले नै पार्टीमै विद्रोह गर्ने चेतावनी दिएपछि माधव नेपाल तनावमा गएका छन् । मन्त्रीहरु हेरफेर गर्ने विषयमा सत्ता गठबन्धनमा पनि छलफल भएको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम माधव नेपालको यो कदमको विरोधमा छन् । उनले बालुवाटारमा भएको भेटवार्ताको क्रममा माधव नेपाललाई मन्त्री फेर्ने समय उपयुक्त नभएको भन्दै यो निर्णयबाट ब्याक हुन सुझाएका थिए ।


तर, नेपाल देउवासामू कडा रुपमा प्रस्तुत भएका थिए । कतिसम्म भने अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले त तत्काल मन्त्रीहरु हेरफेर गर्ने निर्णय कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनसम्म तयार हुने चेतावनी दिएको पाईएको छ । सत्ता गठबन्धनमा आवद्ध अर्को महत्वपूर्ण दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालपनि मन्त्रीहरु हेरफेर गर्ने निर्णय उपयुक्त नभएको निश्कर्षमा पुगेका छन् ।

उनले पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई यो निर्णय पूनर्विचार गर्न सुझाएका थिए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै अहिलेका मन्त्रीहरुलाई च्यापेपछि माधव नेपाल तनावमा देखिएका छन् । उनी अहिले फोन अफ गरेर बसेका छन् । फिर्ता बोलाईएका भनिएका मन्त्रीहरु कार्यालयमा व्यस्त छन् । उनीहरु आज साँझ ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी हुन जाँदैछन् । मन्त्रीहरु फेरबदल गर्ने एकीकृत समाजवादीको पछिल्लो निर्णयले सत्ता गठबन्धनमा नै समस्या पैदा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय