अब काठमाडौंमा घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं । काठमाडौंका बासिन्दाले अब घरमै फोहोर छुट्याउनुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएपछि यही नियम कडाईका साथ पालना गर्नुपर्ने भएको छ ।

यो नियम आगामी साउन १ गतेबाट लागू गर्ने तयारी भएको महानगर स्रोतले बताएको छ ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् ।



तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फल्न रोक्ने उहाँहरुको चेतावनी छ ।

सोमबार महानगरपालिका, सहरी विकास मन्त्रालय र सम्बन्धित स्थानीय तहरुबीच सिंहदरबारस्थित मन्त्रालयमा भएको सहमतिअनुसार साउनबाट भने काठमाडौंमा घर, पसल, होटल, रेस्टुरेन्टसहित सबै फोहोर उत्पादन गर्नेहरुले कुहिने र नकुहहिने फोहोर छुट्टाछुटै रुपमा राख्नुपर्नेछ ।

महानगरपालिकाले केही दिनमै सूचना जारी गर्ने एक अधिकारीले बताउनुभयो । कडाइ पूर्वक फोहोर वर्गीकरण गर्न प्रोत्साहनको नीति पनि ल्याइने योजनामा महानगरपालिका छ ।

महानगरपालिकाका मेयर बालेन साहले चुनावी अभियानकै क्रममा कुहिने र नकुहिने फोहोर लिने गाडी छुट्टा छुट्टै दिनमा पठाउने बताउँदै आउनुभएको थियो । उहाँले कुहिने र नकुहिने फोहोर छुट्याएर दुबैबाट महानगरले आम्दानी गर्न सक्ने बताउँदै आउनुभएको थियो ।

जैविक र अजैविक फोहोरको वर्गीकरण गर्ने अभ्यास धरान र धनकुटा लगायतका स्थानीय तहले गर्दै आइसकेका छन् ।

काठमाडौं महानगरले यो अभ्यास थालेपछि ललितपुर महानगरपालिकासहित उपत्यकाका अन्य नगरपालिकाले पनि यही विधिबाट फोहोर संकलन गर्न बाध्य हुनेछन् । किनकी उपत्यकाको सबैजसो नगरपालिकाले अहिले सिसडोल र बञ्चरेडाँडामै फोहोर फालिरहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय