परीक्षणको रुपमा दिँदै आएको आइतबारको बिदा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गर्यो। यसअघि सरकारले परीक्षणकालागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोमबारको निर्णय असार १ गतेदेखि लागू हुनेछ।
नियमित रुपमा असार १ गतेदेखि सबै कार्यालय खुल्ने छन्। अरू कार्यालयहरूसँगै नेपाल स्टक एक्सचेन्ज पनि आइतबार खुल्ने छ। कार्यालय आइतबार खुल्छ। तर शेयर कारोबार के हुन्छ ? किनकि नेप्सेले यति बेला शेयर कारोबार सोमबारदेखि शुक्रवार गराउँदै आएको छ। सरकारले आइतबार बिदा दिने निर्णय फिर्ता लिए पनि नेप्सेले भने आइतबार कारोबार खोल्ने या नखोल्ने विषयमा कुनै निर्णय गरिसकेको छैन। उसले निर्णय गर्न बाँकी छ। “असारदेखि आइतबार कारोबार गर्ने वा नगर्ने विषयमा निर्णय हुन बाँकी छ” नेप्से प्रवक्ता मुराहरि पराजुलीले मेरो लगानीसँग भने।
सहभागीहरूको छ। नेपालमा सरकारी बिदा अत्यधिक भएकोले शेयर कारोबारलाई ६ दिन नै गर्नु पर्ने राय नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलको छ। “हाम्रा धेरै सरकारी बिदाहरू भएको सन्दर्भमा पाँच दिन कारोबार भन्दा ६ दिन कारोबार वेटर हुन्छ” पौडेलले भने।
उता ब्रोकर कम्पनीहरूले समेत शेयर कारोबारलाई ६ दिन नै गर्दा खासै फरक नपर्ने प्रतिक्रिया दिएका छन्। नेप्सेले नियमित रुपमा ६ दिन नै कारोबार सञ्चालन गर्ने निर्देशन दिएमा उनीहरूलाई कुनै आपत्ति नहुने बताएका छन्। “शेयर बजारलाई अहिले सोमबार देखि शुक्रवार खोल्ने गरिएको भएपनि हाम्रो कार्यालय आइतबार बन्द गर्ने गरिएको छैन्। हामीले आइतबार कार्यालय बन्द नै गरेका छैनौ। त्यसले गर्दा आइतबार कारोबार भए थप काम बढ्छ। काम बढ्दा हामीलाई मात्रै नभएर बजारलाई समेत फाइदा नै हुन्छ। लगानीकर्ताले थप किनबेच गर्ने अवसर पाउँछन् भने नेप्से र सरकारलाई समेत त्यसले फाइदा नै गर्छ। सेटलमेन्टको सन्दर्भमा पनि शुक्रवार कारोबार मात्रै गर्ने अवस्था थियो। तर त्यसले खासै ठुलो समस्या भने ल्याएको छैन। शुक्रवार कारोबार गर्न हामी अभ्यस्त पनि भई सक्यौ। त्यसले गर्दा ६ दिन नै कारोबार सुचारु गर्दा राम्रै हुन्छ” नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले मेरो लगानीसँग भने।
यता, लगानीकर्ताहरू समेत कारोबार दिन बढाउँदा नै मुनासिब हुने बताउँछन्। स्टक मार्केटमा ६ दिन कारोबार गर्ने राष्ट्रको रुपमा चिनाउने यो राम्रो समय रहेको उनीहरूको भनाई छ। “ हुन त विश्व शेयर बजारमा पाँच दिन मात्रै कारोबार गर्ने प्रचलन छ। हप्ताको दुई दिन संसारका धेरै जसो शेयर बजार बन्द नै हुन्छन्। नेपालमा आइतबारदेखि बिहीबारसम्म कारोबार गर्ने प्रचलन छ भने भारतदेखि अमेरिकासम्मका बजारमा सोमबारदेखि शुक्रवारसम्म कारोबार गर्ने प्रचलन छ। खासगरी पहिले कागजी रुपमा शेयर कारोबार गर्ने प्रचलन थियो भने अहिले जस्तो प्रविधिको प्रयोग पनि थिएन। त्यसले गर्दा सेटलमेन्ट गर्न पनि समय लाग्ने गर्थ्यो। जसले गर्दा हप्तामा पाँच दिन मात्रै शेयर कारोबार गराउने प्रचलन छ। जुन अहिलेसम्म परिवर्तन हुन सकेको छैन। तर अहिले त्यस्तो अवस्था पनि छैन। शेयर बजारमा प्रविधिको प्रयोग बढेर गएको छ। जसले गर्दा अहिले ६ दिन नै कारोबार गर्दा नै ठिक हुन्छ। फेरि अहिले हामीले सुरुवात पनि गरिसकेका छौ भने त्यसमा लगानीकर्ता समेत अभ्यस्त भई सकेका छन्। अहिले समय पनि उपयुक्त छ। यति बेलै कारोबार बढाउन सके विश्व शेयर बजारमा राम्रो सन्देश पनि जान्छ। यसको सिको अरू राष्ट्रले पनि गर्न सक्छन्। त्यसले गर्दा आइतबारदेखि शुक्रवा सम्म बजार खोल्ने व्यवस्था गर्दै राम्रो हुन्छ” लगानीकर्ता सन्तोष भट्टराईले भने।