बेसिजनमा जबरजस्ती पकाएर विषादी आँप जताततै , सचेत रहन आग्रह

कञ्चनपुर — आँप पाक्ने सिजन अझै भइसकेको छैन तर महेन्द्रनगर बजारमा भने जताततै आँप देखिन थालेको छ । विषादीको प्रयोगले जबरजस्ती पकाएर पहेंलो बनाइएको आँप धमाधम बिक्री भइरहेको हो ।

भारतबाट आयात गरिएको आँप कार्बाइड तथा विभिन्न किसिमका केमिकलको प्रयोग गरेर पकाइने गरिन्छ । यसरी केमिकल प्रयोग गरी पकाइएको आँपले स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
तराइमा आँप पाक्ने समय असार पहिलो वा दोस्रो सातादेखि सुरु हुन्छ । जुन साउन अन्तिम वा भदौ पहिलो सातासम्म पाइन्छ । तर अहिले बजारमा आएको आँप जबरजस्ती पकाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले बताए । उनले केमिकल प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा समेत असर गर्न सक्ने बताए ।

‘आँपको सिजन सुरु भइसकेको छैन, असारमा हो आँप पाक्ने,’ ज्ञान केन्द्रका प्रमुख विष्टले भने, ‘अहिले बजारमा आएको आँप खानयोग्य छैन, यसले मानिसहरू बिरामी पर्न सक्छन ।’ उनका अनसार मुम्बई जातको आँप अलि अगाडि पाक्ने भए पनि यहाँ भने आएको छैन ।

महेन्द्रनगर बजारमा ठेलाहरूमा पहेंलो आँप आकर्षक देखिने गरी सजाइएको छ । बेमौसमको भएकाले स्थानीयले पनि धमाधम खरिद गरिरहेका छन् । अहिले प्रतिकिलो ८०/१०० सम्ममा आँप बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् ।

केमिकलको प्रयोग गरेर पकाइएको आँप खाँदा ग्यास्ट्रिक हुने र पखाला लाग्नेजस्ता समस्याहरू देखिन सक्ने महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले बताए । उनका अनुसार अहिले अस्पतालमा झाडापखालाका बिरामी बढेका छन् । त्यसमध्ये कतिपय आँप खाएर बिरामी भएका पनि आउने गरेका छन् ।

पश्चिम तराईमा गर्मी दिन प्रतिदिन बढ्दै गइरहेको छ । लामो समयदेखि वर्षा पनि हुन सकेको छैन । यस्तो अवस्थामा तयार नभएका फलफूलहरू विषादी प्रयोग गरेर खाँदा झनै जोखिम हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘यसले तत्काल झाडापखाला र ग्याष्ट्रिक देखिए पनि दीर्घकालीन असरहरू पनि गर्छ,’ डा. भट्टले भने, ‘उपभोक्ताले यसतर्फ सचेत हुनुपर्छ ।’

नियमित बजार अनुगमन नहुने र अनुगमन भए पनि सोझै कारबाही गर्न सकिने अवस्था नभएका कारण स्वास्थ्यका लागि हानिकारक वस्तुहरूसमेत निर्बाध बिक्री भइरहेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले आँखाले हेरेर विषादीको प्रयोग भएको छुट्याउन नसकिने र त्यत्तिकै कारबाही गर्न नसकिने बताए । उनले भारतबाट आयात हुँदाखेरि र क्वारेन्टाइन परीक्षण गराएर आउनुपर्ने बताए । भण्डारीकै नेतृत्वमा बजार अनुगमन हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय