काठमाडौं । स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा सार्वाधिक सुनिने नाम हो, हेमराज थापा । बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन् ।
कहिले एमसीसी त कहिले भ्रष्टाचारको बिरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठि त कहिले प्रहरी हिरासतमै समेत थुनिएका छन् । उनै हेमराज थापा अब आउँने संघिय निर्वाचनमा उठ्ने चर्चा चल्न थालेको छ ।
२०७९ बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको जितले पार्टीका नेता–कार्यकर्ताको टाउको दुःखेको छ भने, स्वतन्त्र तर राजनीतिमा सक्रिय हुन खोज्नेहरुको लागि उत्सव र सुनौलो अवसर सिर्जना भएको छ ।
कुनै पनि राजनीतिक दलमा आवद्ध नभएपनि निर्वाचनमा उठ्न र जित्न सकिन्छ भन्ने काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका बालेन्द्र साह ‘बालेन’ र धरान उपमहानगरपालिकाको मेयरमा विजयी हर्कराज राई ‘हर्क साम्पाङ’ एक उदाहरण हुन् । उनीहरुको विजयीले कुनै पनि राजनीतिक दलमा लाग्नै पर्छ भन्ने पुरानो सोच र धारणालाई विस्थापित गरिदिएको छ ।
सामाजिक अभियान्ता हेमराज थापा स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लागि मत माग्न बिभिन्न जिल्लामा सक्रिय भएका थिए । उनले त्यस बेला स्थानिय बासिन्दाहरुको राम्रो प्रतिक्रिया पाएका थिए । जसले गर्दा उनी अहिले संघिय निर्वाचनमा उठ्ने तयारी थालेका छन् । स्थानिय निर्वाचनमा उनलाई धेरैको एउटै प्रश्न थियो, किन निर्वाचनमा नउठेको ? भन्ने प्रश्नको सामना गर्नु परेको थियो । त्यसै बेलादेखि हेमराज थापाले संघिय निर्वाचनमा उठ्ने मनासय बनाएका थिए ।
निर्वाचनको मिति नै घोषणा नहुदै विवेकशिल साझा परित्याग गरेकी रञ्जु दर्शनाले काठमाडौंको निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।
गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा।प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।
त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा पुकार बमले पनि काठमाडौंको निर्वाचन क्षेत्र नं–१ बाट निर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सुमन सायामिले काठमाडौंको निर्वाचन क्षेत्र नं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेका छन् । हेमराज थापाले क्षेत्र नं–४बाट निर्वाचनमा उठ्ने तयारी थालेका छन् । जुन नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । यस अघि पनि यसै क्षेत्रबाट गगन थापा विजयी भएका थिए ।
अन्यले जसरी घोषणा नगरेपनि हेमराज थापाले भित्रभित्रै काठमाडौं निर्वाचन क्षेत्र नं–४ बाट संघिय सांसदका लागि उठ्ने तयारी थालेको उनी निकट स्रोतले दैनिक न्यूज नेपाललाई जानकारी दिए । अहिले उनी काठमाडौंको बिभिन्न ठाउँमा बिभिन्न व्यक्तिहरुसँग चुनावी रणनीति बनाउँन व्यस्त रहेका छन् । बिगतमा आफु बिभिन्न मुद्धा लिएर सडक आन्दोलन गरेकाले पनि आफुलाई चिनाउन भन्दा पनि मत कसरी आफ्नो पक्षमा खसाल्ने भन्ने विषयमा छलफल गर्दै आएका छन् ।
भेटघाट र छलफलमा धेरै व्यक्तिहरुबाट सकारात्मक प्रतिक्रिया पाएकाले उनले जसरी भएपनि निर्वाचन जित्ने गरी रणनीति बनाउन लागि परेको उनी निकट व्यक्तिहरु बताउने गरेका छन् । काठमाडौंको बिगत देखि वतर्मान चुनावको बेला मतदाताले सधै एउटै व्यक्ति भन्दा फरक–फरक व्यक्तिलाई जिताएको इतिहास छ ।