अर्थमन्त्रीमा ज्ञानेन्द्र, गृहमन्त्रीमा नारायणकाजीकाे चर्चा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई शपथ गराउन दबाब दिएपछि प्रधानमन्त्रीले केही दिनमै अन्य मन्त्रीहरुसहित मन्त्रिमण्डल हेरफेर गर्न लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार संसदमा पेश भएको आर्थिक वर्ष ०७९\८० को बजेट पारित भएलगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णयलाई प्रधानमन्त्रीले अवरोध गरे गठबन्धनको औचित्य नरहने भन्दै आपत्ति जनाएका थिए । साथै बजेट फेल गराउने धम्की समेत दिइएकाे बताइन्छ । एकीकृत समाजवादीको उक्त निर्णयसँगै अन्य दलहरुमा पनि मन्त्री परिवर्तनको दबाब परिरहेको छ ।

आगामी नयाँ मन्त्रीहरुमा गृहमन्त्री र अर्थमन्त्रीसमेत परिवर्तनको चर्चा छ । जसमा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिइने जनाइएको छ ।

हाल अर्थमन्त्रालय माओवादी केन्द्रको भागमा छ । त्यस्तै हाल काँग्रेसको भागमा रहेको गृह मन्त्रालय भने माओवादीले पाउने छ । नयाँ गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रारम्भिक गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

यो मन्त्रिमण्डल हेरफेरले गठबन्धन दलहरुभित्रको किचलोलाई शान्त पार्ने अनुमान पनि राजनीतिक वृत्तमा हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय