गठबन्धनका केही दलसँग बाख्रासँग लड्ने हैसियत पनि छैनः ओली

विराटनगर। एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताएका छन् । उनले एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा नरहेको पनि दाबी गरेका छन् ।

नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेकाे कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमाले एक्लै चुनावमा जाँदा पनि सानदार जित हासिल गरेको छ । एमालेले कसैको जुठो खाँदैन।’



उनले पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको टिप्पणी गरे । ‘आफ्नाे गठबन्धनभित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईहरुले’, उनले भने, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’

उनले गठबन्धन नहुँदा धूलोपीठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएकाे उनले बताए । ‘गठबन्धन टुटाउन बल गर्नु परो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धूलोपीठो हुने डरले उनीहरु गठबन्धन टुटाउन चाहँदैनन्’, ओलीले भने, ‘साढेसँग लड्न सक्दिनँ भनेर उनीहरुले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरुको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’

अध्यक्ष ओली अर्थमन्त्री जनार्दन शर्मामाथि पनि खनिए । वार्षिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउँछु भन्ने अर्थमन्त्रीकाे बजेट भाषण हावादारी गफमात्र भएको उनकाे टिप्पणी थियाे ।

आफूले गरेको संसद विघटनको बचाउ गर्दै ओलीले आफूले गरेको संसद विघटन प्रतिगमन नभएको दाबी गरे । उनले कसैले प्रतिगमन भन्याे भने मुखमा औंला ठड्याएर विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

ओलीले शेरबहादुर देउवाले संसद विघटन गरेर चुनाव नगराउँदा चाहि प्रतिगमन भएको उनकाे भनाइ थियाे । ‘शेरबहादुरजी ज्ञानेन्द्रका पाउमा परिसक्नु भएको थियो । हामीले जनआन्दोलनको भरमा त्यसलाई बचायौं र संसदीय व्यवस्था कायम राख्यौं त्यति बेला प्रतिगमन हुनबाट बचाएका थियाैं’, ओलीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय