‘सिस्डोलमा पनि स्वप्निल गार्डेन, ठूला होटल, क्यासिनो बन्नसक्छ, अरु देशले पनि गरेका छन्’

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन स्थल नुवाकोटको सिस्डोल क्षेत्रमा स्वप्निल गार्डेन बन्छ । त्यो एरिया हाइल्याण्डको डेष्टिनेशन बन्छ । ठूला होटल, रेष्टुरा, क्यासिनो खोल्न सकिने बताएकी छन् ।

प्राइम टिभीमा शनिबार बोल्दै उनले सिस्डोलको पोष्ट क्लोजपछि त्यो ठाउँलाई विकास गरी राम्रो ठाउँको रुपमा विकास गर्न सकिने तर्क गरेकी हुन् । झाँक्रीले अरु देशले पनि त्यस्तो गरेको उदाहरण दिइन् ।

सिस्डोलाई पोष्ट क्लोज बैज्ञानिक ढंगले गर्यौं, बन्चरेडाँडामा फोहोरको वैज्ञानिक व्यवस्थापन गर्यौं भने धेरै समस्या नआउने बताउँदै उनले सिस्डोल बनेपा धुलिखेलभन्दा नजिकको गन्तव्य भएकाले त्यहाँ ढंगले विकास गर्न सकिने बताइन् ।

उनले भनिन, ‘मैले थुप्रै सक्सेस स्टोरी पनि मन्त्रालयमा प्राविधिक व्यक्ति र संघसंस्थाहरुलाई बोलाएर प्रस्तुती गर्न लगाएको छु । जस्तो सियोलमा भएको पोष्ट क्लोजपछि ठूलो गार्डेन बनेको छ । केहीं स्टेडियम बनेका छन् । कहीं के बनेका छन् । राम्रो राम्रो स्टोरी छ । सिस्डोल पनि पोष्ट क्लोजपछि स्वप्निल गार्डेन बन्छ । त्यो एरिया हाइल्याण्डको डेष्टिनेशन बन्छ । ठूला होटल, रेष्टुरा, क्यासिनो, त्यो एउटा यति राम्रो ठाउँ बन्छ ।’



झाँक्रीले आफूले सपना नबाँडेको जिकिर गर्दै यो हुने पनि दावी गरिन् । काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वले त्यो गर्नसक्ने उनको तर्क छ । काठमाडौंका मेयर बालेन शाहसँग सिस्डोलमा त्यो खालको विकास गर्ने सोच र क्षमता रहेको बताउँदै झाँक्रीले पछिल्लो सम्झौताले त्यो बाटो खुलेको तर्क गरिन् ।

साथै, उनले ल्याण्डफिल्ड साइटका स्थानीयसँग सम्झौता गर्न बालेन शाहभन्दा अगाडि सरेर आफूले जस लिने होड नगरेको भन्दै प्रधानमन्त्रीले नै आफूलाई वार्ताको लागि जिम्मेवारी दिएको बताइन् । झाँक्रीले शहरी विकास मन्त्रालयमा फोहोर व्यवस्थापनस्थलका वासिन्दा र सरोकारवालाहरुलाई बोलाएको बैठकमा बालेन शाह नआउनु व्यक्तिगत कार्यव्यस्तता भएको बताइन् ।

उनले भनिन, ‘मलाई जस लिनु परेकै छैन् । मैले काम गरेको हो । यो काममा बालेन शाहले इनिसियन लिनुभयो । आधा दर्जन बैठक मन्त्रालयमा बसेका छौं उहाँसँग ।’ फोहोर व्यवस्थानको मुख्य काम काठमाडौं महानगरपालिकाको भएको र अहिलेको सबै इनिसियशन पनि बालेन शाहकै भएको झाँक्रीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय