राज्यमन्त्री विमला वलीले अस्पतालको शय्याबाटै भनिन् – मलाई योजनाबद्ध रूपमा फसाइयो

मानसिक पी,डा भएर एक्कासी बेहोस भएको अवस्थामा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । राज्यमन्त्री वली बेहोस भएर ढलेकी थिइन् । उनलाई अस्पतालको १ नम्बर क्याबिनमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ईन्द्र ढकालले बताए । ‘उहाँलाई सुगर पनि देखियो । प्रेसर लो हाई भइरहेको छ । हिजो राति नैं बेहोस भएर इमर्जेन्सीमा आउनुभएको थियो । अहिले सुधार भएको छ,’ डा. ढकालले लोकान्तरसँग भने ।

मंगलवार दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी उनलाई मुख्यमन्त्री कूलप्रसाद केसीको निर्देशनमा बुटवल ल्याइएकी वलीलाई राति नै प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।



एकराज बस्नेतले आफूबाट सापटी लगेको पैसा दिन बारम्बार अनुरोध गर्दा पनि नदिई सम्पर्कविहीन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको मन्त्री वलीले प्रहरीलाई बताएकी छन् । घर पुग्दा योजनाबद्ध रूपमा फसाइएकाले थप मानसिक तनाव भएर आफू बेहोस भएको उनले बताइन् ।

वलीले भनिन्, ‘लगेको पैसा फिर्ता गर्न र हिसाब मिलाउनका लागि धेरैपटक आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्कविहीन भएपछि गएर भेटेर नै मिलाउनका लागि गएकी हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई फसाउने काम गरियो । मैले मेरो सुरक्षा, स्वकीय सहितको टीम लगेर गएको थिएँ । हामीलाई च्यानल गेट बन्द गरियो ।’

आफू सजक हुदाँहुँदै एकराजकै योजनामा एकराजको दाइ वीरेन्द्र बस्नेतले योजनाबद्ध रूपमै आफूलाई फसाएको उनले बताइन् । आफूले सामान्य रूपमा हिसाबकिताब मिलाउन गरेको आग्रहमा आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न खोजेको उनले अस्पतालको शय्याबाट बताइन् । उनले भनिन्, ‘पहिलेको पैसा नै नदिई झन् मेरो कारोबार बिग्रिएको छ भनेर मेरो घरलाई बैंकमा राखेर ऋण निकाल्न खोजेको थियो, मैले दिएन । त्यसबापत उसले मलाई थप पीडा दिँदै तपाईंलाई मन्त्री बनाए, मैले के पाए भनेर बारम्बार पीडा दिइरहेको थियो ।’

प्रदेशसभा सदस्य दामा शर्माले राज्यमन्त्री विमला विभिन्न तनावका कारण बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको बताइन् । वलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक वसन्त घर्तीमगर अस्पताल पुगेका छन् । उनको अवस्था सुधारात्मक रहेको उनले बताए । मन्त्री वलीलाई तत्काल बर्खास्त गर्न सरकारलाई चौतर्फी दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय