अपर सोलु हाइड्रोको आइपीओमा आवेदन दिनुअघि हेर्नुहोस् कस्तो छ कम्पनी ?

काठमाडौं : अपर सोलु हाइड्रो इलेक्ट्रिकले असार २० गते सोमबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५% अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ

रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्रोको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । इक्राले २०७८ चैत ८ गते उक्त रेटिङ दिएको हो ।

कति कित्ताका लागि दिने आवेदन ?

अपर सोलु हाइड्रोको आइपीओ पाउन लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख २० हजार ४७५ कित्ता मात्र सेयर निष्कासन गरेकाले माग भन्दा निकै धेरै आवेदन पर्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । विगतलाई आधार मान्दा आवेदन दिएका सबैलाई आइपीओ पर्ने सम्भावना कम देखिन्छ ।

अपर सोलु हाइड्रोको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ८२ हजार जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने अपर सोलुको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएर २०६७ वैशाख १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । पछि मिति २०७३ वैशाख २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएर कारोबार गर्दै आएको छ । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिकाको वडा नं १ हात्तीसारमा काठमाडौंमा रहेको छ ।


कम्पनीले सोलुखुम्बु जिल्लास्थित सोलु खोलाको पानी प्रयोग गरी २३.५ मेगावाट क्षमताको परियोजनाको निर्माण कार्य शतप्रतिशत सम्पन्न गरिसकेको जानकारी गराएको छ । २०७८ साल फागुन ७ गतेदेखि आयोजनाबाट उत्पादित विद्युत बिक्री भइरहेको पनि जनाएको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७० चैत ४ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २१०५ चैत ३ गतेसम्म बाहल रहने कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

अपर सोलु हाइड्रो इलेक्ट्रिकको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यसमध्ये संस्थापक सेयरधनीबाट १ अर्ब १ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता भइसकेको छ । आयोजना प्रभावित स्थानीयको लगानी १३ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त सेयर र हाल सर्वसाधारणका लागि जारी हुन लागेको सबै सेयर पुँजीकृत भएपछि चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात् १ अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७५.५%, आयोजना प्रभावित स्थानीयको १०% र सर्वसाधारण र कर्मचारीको १४.५% कायम हुनेछ । कम्पनीले आर्थिक वर्ष २०८०–८१ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब ३५ करोड रुपैयाँ पुँजी नै यथावत रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म ९ करोड ४२ लाख २१ हजार रुपैयाँ खुद नाफा गर्ने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०७९–८० मा यसले ९ करोड ६९ लाख ३२ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरिएको छ । यस्तै, चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ १७ पैसा पुग्नेछ । आर्थिक वर्ष २०७९–८० सम्ममा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा पुग्नेछ । प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ३५ पैसा हुने प्रक्षेपण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय