गगन थापालाई थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो : विप्लव

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मुग्लिन कटाउनुपर्ने टिप्पणी गरेका छन् ।

१२ बुँदे ब्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्दा थापाले अमेरिकी सेना आए आफूलाई चारपाटा मोडेर थानकोट कटाइदिए हुन्छ भनेका थिए ।


‘गगन थापालाई हाम्रो लाज ढाक्दिएर आउँछ भन्ने परेको थियो,’ बुधबार राजधानीमा आयोजित पार्टी ध्रुविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले भने, ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ । मालिकसँग त लड्नेहरु मात्रै टिक्छन् ।’

अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो भन्दै उनले अघि भने, ‘उन(गगन थापा)लाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपर्थ्यो ।’

एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको भन्दै उनले न्यायाधीशमाथि समेत आक्रोश पोखे । उनले भने, ‘देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’

विप्लवले आफ्नो पार्टी छाडेर जानेहरुलाई क्रान्तिबाट भयभित भएको र सत्ताको प्रलोभनमा परेको आरोप लगाए । ‘क्रान्तिबाट भयभित मान्छेहरु हिजो पनि थिए र आज पनि छन्,’ विप्लवले भने, ‘आज पनि एकीकृत जनक्रान्तिबाट भयभितहरु धेरै छन् । जो मान्छेहरु एकीकृत जनक्रान्तिबाट भागिरहेका छन्, उनीहरुले आजको सत्तामा र्‍याल काडेर प्रभावित भएका छन । त्यसको कुनै मुल्य छैन ।’

उनले दलालहरु क्रान्तिकारीहरुका विरुद्ध लडिरहेको भन्दै गगन थापाले अमेरिका नांगो ढंगले आउँदैन भनेर आफुलाई चार पाटा मुडेर खेद्नु भनेको भन्दै अहिले उनलाई अमेरिकाले धोती न टोपी बनाइदिएको बताए ।

‘अहिले अमेरिकाले गगनलाई धोती न टोपी बनाइदिएको छ । उनलाई त थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो नि अहिलेसम्म १’ विप्लवको भनाइ छ । उनले अमेरिकाको जनरल आएर नेपालमा क्याम्प खोल्ने हो खोल्न पाउनुपर्छ भनेको भन्दै एमसीसी आइसकेको बताए । त्यस्तै उनले प्रचण्डको व्याख्यात्मक टिप्पणीको पनि धोती लगाइदिएको बताए ।

महासचिव विप्लवले नेपालमा अमेरिकीहरुलाई परास्त गर्न काँग्रेस एमाले र माओवादीले नसक्ने भन्दै क्रान्तिकारी श्रमिक जनता र आफ्नो पार्टी भएको र नेतृत्व गर्ने दावी गरे । उनले देशको पक्षमा उभिने ठुलो कुरा भएको भन्दै त्यसका लागि मारिन समेत पछि नपर्ने बताए ।

उनले नेपाली जनताले आफ्नो पार्टीलाई साथ समेत दिने बताए । ‘हामीसँग अर्को पार्टीका कार्यकर्ता पनि न्याय माग्न आएका छन्’, विप्लवको भनाइ छ । उनले अछामको एक जनाले न्याय नपाए विप्लवको पार्टीमा जानुपर्छ भनेर भनेको भन्दै जता गएपनि आफ्नै पार्टी खोजी गर्ने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय