देउवालाई राष्ट्रपति, प्रचण्डलाई प्रधानमन्त्री र आरजुलाई उपप्रधानमन्त्री बनाउने सहमतिका साथ चुनावी गठबन्ध

काठमाडौं असार २३

प्रचण्डलाई आश र त्रासमा राखेर आफ्नो अभीष्ट पूरा गर्न अग्रसर पश्चिमाहरूले निर्वाचनपश्चात प्रचण्डलाई प्रधानमन्त्री बनाउन परे त्यसनिम्ति पनि तयार रहने सोच बनाएको बुझिएको छ ।


निर्वाचनपछिको सत्ता आफूअनुकुल तुल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू अनेकौँ रणनीतिक योजनाका साथ क्रियाशील भइरहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । नेपाली राजनीतिमा उत्तर र दक्षिणका छिमेकी मित्रराष्ट्रहरूको भूमिका रक्षात्मक हुँदै गएको र, पश्चिमी शक्ति-राष्ट्रहरूको कार्ययोजना निर्णायक बन्दै गएको छ ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार खडा गर्ने सफलता पाएपछि पश्चिमाहरू आफूअनुकुलको निर्णय गराउँदै अघि बढ्न समर्थ भएका छन् । निर्वाचनपश्चात काङ्ग्रेसलाई मूल शक्तिका रूपमा स्थापित गरी ‘स्याटलाइट पार्टी’हरूको सहयोगमा सरकार सञ्चालन हुने परिस्थिति निर्माण गर्न पश्चिमाहरू लागिपरेका छन् । प्रचण्डलाई आश र त्रासमा राखेर आफ्नो अभीष्ट पूरा गर्न अग्रसर पश्चिमाहरूले निर्वाचनपश्चात प्रचण्डलाई प्रधानमन्त्री बनाउन परे त्यसनिम्ति पनि तयार रहने सोच बनाएको बुझिएको छ ।

एक विश्वस्त सूत्रले जनाए अनुसार चुनावपछि काङ्ग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनाएर अघि बढ्न सकिने निश्कर्षमा उनीहरू पुगेका छन् । निर्वाचनपछि शेरबहादुर देउवालाई राष्ट्रपति, प्रचण्डलाई प्रधानमन्त्री र आरजु राणालाई उपप्रधानमन्त्री बनाउने सहमतिका साथ चुनावी गठबन्धनलाई सुदृढ तुल्याउने पश्चिमी योजनामा देउवा र प्रचण्डलाई सहमत गराउने प्रयास भएको र, त्यसमा दुवैपक्ष सहमतिनजिक पुगेको ठानिएको छ । पाँच वर्षको कार्यकालमा अघिल्लो अढाइ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने र, त्यसपछिको साढे दुई वर्ष आरजु राणालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने ‘रोडम्याप’ उच्च तहमा बनेको बुझिएको छ । प्रचण्डलाई वाम गठबन्धनमा जानबाट रोक्न आवश्यक परे निर्वाचनअगावै प्रधानमन्त्री पद सुम्पिन पनि देउवालाई मानसिक रूपमा तयार पारेको बुझिएको छ ।

ज्ञातव्य छ, शेरबहादुर देउवा पार्टीमा आफ्नो उत्तराधिकारी बन्ने क्षमताका एक मात्र व्यक्ति आरजु राणा भएको ठान्छन् । ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको भए पनि देउवा आफू राष्ट्रपति बनेर पत्नीलाई प्रधानमन्त्री तथा पार्टीसभापति बनाउने योजनामा भएको बुझिन्छ । राष्ट्रपति बन्नका निम्ति अनुकुलका व्यक्तिलाई पार्टीको कार्यवाहक सभापति बनाउने र, आफू औपचारिक रूपमा राजनीतिक दलबाट अलग भएको जनाउँदै थप पाँच वर्ष सत्ताको सम्पूर्ण साँचो हातमा लिने तयारीमा देउवा रहेका छन् । त्यसैले केही महिनाअघि भारतको भ्रमणमा रहँदा पनि देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नी पत्नी आरजुलाई प्रधानमन्त्री बन्ने कार्यमा सहयोगको याचना गरेको खबर सार्वजनिक भएको थियो ।

केही समययता आरजुको दिल्ली-सम्पर्क बाक्लिएको महसूस नेपालभित्र गर्न थालिएको छ । आरजुलाई प्रधानमन्त्री बनाउने पश्चिमी योजनामा नयाँ दिल्ली कसरी सहयोगी बन्ने हो सो स्पष्ट हुन सकेको छैन । तर अदृष्य शक्तिको त्यस्तो (प्रचण्ड-आरजु आलोपालो प्रधानमन्त्री बन्ने) योजनामा शेरबहादुर देउवा जस्तै प्रचण्ड पनि सकारात्मक रहेको बताइन्छ । वामपन्थी कम्युनिष्ट कित्ताभित्र प्रचण्डमाथि चर्को दबाब पैदा हुन सकेन भने पश्चिमी योजनाअनुरुपको ‘आलोपालो प्रधानमन्त्री’को अवधारणामा प्रचण्डले सहमति जनाउने विश्वास गरिएको छ ।

त्यसो त अहिले कदाचित वामपन्थी गठबन्धन बनेछ भने पनि चुनावपछि प्रचण्ड काङ्ग्रेससँगै मिलेर सरकार गठन गर्ने ठाउँमा नपुग्लान् भन्ने होइन । २०७४ सालमा वृहत वामपन्थी गठबन्धनबाट निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउने सफलता प्राप्त गरे पनि प्रचण्डले एमालेबाहेकका समूह (काङ्ग्रेस, जसपा, तत्कालिन राजपा आदि)सँग मिलेर सरकार गठन गर्न खुट्टा उचालिसकेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘स्वास्थ्य अवस्था कमजोर देखिएकोले’ मात्र प्रचण्ड एमालेसँग एकतावद्ध भएर अघि बढ्न राजी भएका थिए । संसदीय हैसियत र संविधानका प्रावधान (समाजवाद स्थापना गर्ने) लाई टेकेर एकदलीय अधिनायकवादमा छलाङ मार्ने अग्रसरता प्रचण्डले लिएपछि केपीसँग उनको अन्तरविरोध चर्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय