अपर हेवाखोलाको आईपीओ आजबाट खुल्दै , आवेदन दिनु अघि कम्पनी कस्तो छ? हेरौं

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज शुक्रबार (असार २४ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको उक्त शेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कत्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ मात्रै रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई १५ करोड रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा असार २८ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे साउन ६ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

मध्यम जोखिम रहेको जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी( आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई २०७८ चैत २१ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि २०७९ फागुन ६ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।

कस्तो कम्पनी हो?

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६८ फागुन ३० गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७५ जेठ २३ गते देखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ ।



कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २९, अनामनगर काठमाडौंमा रहेको छ । कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत उत्पादन केन्द्र भने संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ मच्छेबुङ्ग, बतासे, कोक्सा र पाँचखपन न.पा. वडा नं. ८ र ९ (साविकको जलजला गा.वि.स. वडा नं. ३, ४ र ५) स्थित मालबासे, सुनखानी र कोकलेमा रहेको छ ।

कम्पनीले रनअफ रिभरमा आधारित ८.५ मेगाबाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना सञ्चालन गर्दै आईरहेको छ ।

आयोजनाको कुल लागत १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ लाग्ने अनुमान रहेको छ भने प्रति मेगावाट लागत १६ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

साथै साधारण लगानी फिर्ता हुने अवधि ६.८७ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १४.६८ वर्ष रहेको छ ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता शेयर स्थानिय बासिन्दालाई र सर्वसाधारणलाई ३० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर गरी कुल २० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

आईपीओ निष्काशन गरेर संकलन भएको रकम कम्पनीले आयोजनाको लागि बैंकहरुबाट लिएको कर्जा रकमको भुक्तानीमा प्रयोज गरिने जनाएको छ ।

तीन वर्षमा सञ्चित नाफा ६ करोड पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ५ करोड ९९ लाख १४ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा भने २ करोड २४ लाख ५८ हजार रुपैयाँ नोक्सानीमा हुने प्रक्षेपण गरेको छ ।



यस्तै, आर्थिक वर्ष २०७९/८० मा भने कम्पनीले २ करोड ९६ लाख १७ हजार रुपैयाँ नाफा आर्जन अनुमान गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ९८ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९८ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा भने भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ५१ पैसा हुनेछ भने प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ ४९ पैसा नोक्सानीमा हुने कम्पनीले अनुमान गरेको छ ।

पूँजी संरचना कस्ताे छ?

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता र सर्वसाधारणलाई १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता गरी २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै ५० करोड रुपैयाँ रहेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ ।

सञ्चालक समिति

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ ।

हाल कम्पनीमा सर्वसाधारण समुहबाट प्रतिनिधित्व नभएसम्मको लागि समेत गरी संस्थापक समुहबाट १ जना महिला सञ्चालक सहित ६ जना र १ जना स्वतन्त्र गरी ७ जना सञ्चालक रहेका छन् ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी २ जना सञ्चालकको निर्वचन गर्नेछ । सञ्चालकहरुको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा केशव बहादुर रायमाझी रहेका छन् । लामो समय देखि जलविद्युत क्षेत्रमा आवद्द रहेका रायमाझी तत्काली जनता बैंकमा पुर्व अध्यक्ष समेत हुन ।

यस्तै सञ्चालक समितिमा रेडराज खड्का, अर्जुन प्रसाद गौतम, भिमलाल पौड्याल, कृष्ण कुमार तामाङ्ग, भुवन कुमारी शाही र मणिराज दाहाल रहेका छन् । दाहाल स्वतन्त्र सञ्चालक हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय