म पदका लागि हिरिक-हिरिक हुने मान्छे होइन: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन्।

एमालेसँग एकताको च्याप्टर बन्द भएको हो? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए।


´जब एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्ने? बरू पार्टीमा हामीले जसरी जुन कारणले विद्रोह गरेका थियौं त्यसको औचित्य पुष्टि भएको छ’, बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने।

नेता नेपालले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भएकोले संविधानको रक्षा र प्रतिगमनविरूद्ध पाँच दलीय गठबन्धन गरिएको स्मरण गरे।नेता नेपालले अहिलेको मुख्य शत्रु नोकरशाही पुँजीवाद भएकोले त्यसविरूद्ध एक हुनुपर्ने बताए।

नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेर प्रचण्ड अध्यक्ष र माधव नेपाल प्रधानमन्त्री बनाउने भन्ने समाचारमा सत्यता नभएको बताए।

कम्युनिष्ट पार्टीले नै राष्ट्रको निकास दिन सक्छ भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहेको भए पनि आफूले पद र प्रतिष्ठाको लागिमात्र पार्टी एकता नगर्ने दाबी गरे।

‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्न पर्दैन, म पदको पछाडि लाग्ने, पदका लागि हिरिक-हिरिक हुने मान्छे होइन’, उनले भने।नेपालले पछिल्लो समय तत्कालीन नेकपालाई व्युँताउन सकिन्छ कि भनेर छलफल भने भइरहेको बताए।

‘नेपालको राजनीतिक परिवर्तनमा बामपन्थी शक्तिको ठूलो हात रहेको छ, त्यसैले ती शक्तिलाई छिन्नभिन्न हुन नदिन केही गर्न सकिन्छ कि भन्ने छलफल भएको छ त्यो निरन्तर चलिरहन्छ’, उनले भने।

बामपन्थी एक हुन खोज्दा कांग्रेस तर्सिने अवस्था रहेको बताउँदै उनले त्यो हुनु आवश्यक नभएको बताए।नेपालले आफूहरूको भूमिका र सहयोगले नै कांग्रेसले सरकार बनाउन सम्भव भएको बताउँदै त्यो कुरालाई कांग्रेसले ध्यान दिनु जरूरी रहेको बताए।

नेपालले स्थानीय तहको निर्वाचनमा तल्लो तहसम्म गठबन्धन हुन नसक्दा आफूहरूलाई धेरै लाभ नभए पनि पाँच दलीय गठबन्धन मिलेर जानुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय