सर्वसाधारणलाई पिपुल्स पावरको आईपिओ साउन ३१ गतेदेखि

पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरिसकेको छ । कम्पनीले असार ८ गतेदेखि साउन ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय वासिन्दाको लागि शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितको लागि ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का स्थानीयको लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता शेयर छुट्याईएको थियो भने इलाम नगरपलिकाको १ र ४ वडा बाहेकका इलामका अन्य स्थानीयको लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर छुट्याईएको थियो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय