श्रृजनशील लघुवित्तको आइपीओमा आवेदन दिनुअघि हेरौं कस्तो छ कम्पनी ?

काठमाडौं : श्रृजनशील लघुवित्तले बुधबार भदौं १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अइपीओ भर्न सकिनेछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२२ मे २५ मा यो रेटिङ दिएको हो । यो रेटिङसन् २०२३ मे २५ सम्म बाहल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

श्रृजनशील लघुवित्तको आइपीओ पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिन्छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९० कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा, श्रृजनशीलको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजारकित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनी सम्बन्धी विवरण

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो । २०७५ कात्तिक ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय सिराहा जिल्ला, गोलबजार नगरपालिका–१,चोहर्वामा रहेकोछ ।

श्रृजनशीलले २०७५ फागुन ३ गतेबाट वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७५ चैत १ गतेदेखि कारोबार सुरु गरेको हो । यसले हाल १० वटा जिल्लामा ३३ वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

श्रृजनशील लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । जारी पुँजीमध्ये ७ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । हाल बिक्री गर्न लागिएको आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात १० करोड ९३ लाख रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६४% र सर्वसाधारण हिस्सा ३६% हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ सम्म निरन्तर चुक्ता पुँजी वृद्धि गर्ने कम्पनीले योजना बनाएको छ । आइपीओ बिक्रीपछि कायम हुने पुँजीलाई वृद्धि गरी चालु आर्थिक वर्षको अन्त्यमा १६ करोड रुपैयाँ पुर्याउने विवरणपत्रमा उल्लेख छ । यस्तै, आव २०८०–८१ मा २४ करोड र आव २०८१–८२ मा ३० करोड रुपैयाँ पुँजी बनाउने कम्पनीले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म श्रृजनशील लघुवित्तले ८ करोड ७७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यस्तै, आव २०८०–८१ मा ९ करोड ४७ लाख १७ हजार रुपैयाँ र आव २०८१–८२ मा १० करोड ८ लाख रुपैयाँ नाफा कमाउने अनुमान छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ८१ पैसा पुग्ने प्रक्षेपण छ । यस्तै, आव २०८०–८१ मा ३९ रुपैयाँ ४६ पैसा र आव २०८१–८२ मा ३३ रुपैयाँ ६० पैसा हुने प्रक्षेपण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय