एमालेले विचौलियासँग मोलतोल गर्दैन, एक्लै बहुमत ल्याउँछ :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने चुनावमा एमाले एक्लैले बहुमत ल्याउने बताउनुभएकाे छ ।

शनिबारदेखि काठमाडाैंमा सुरु भएकाे प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक्लै बहुमतको सरकार बनाउन सक्ने बताउनुभयाे । माओवादी केन्द्रलाई विचाैलाकाे संज्ञा दिँदै उहाँले एमाले माेलताेलकाे राजनीति गर्ने पार्टी नभएकाे प्रष्ट पार्नुभयाे ।


अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भन्नुभयो – ‘अस्ति कता एक नेताले हामी तेस्रो शक्ति बन्छौं, तेस्रो शक्ति भए पनि हामी महत्वपूर्ण भूमिकामा हुन्छौं भनेछन्, त्यो भनेको के भन्दा हामी बिचौलिया हुन्छौं, हामी यता पनि मोलतोल गछौं, उता पनि मोलतोल गर्छाैं भन्न खोजेको हो, तर नेकपा एमाले मोलतोलको पक्षमा छैन । एक्लै बहुमत ल्याउन सक्छ, एक्लै बहुमतको सरकार बनाउँन सक्छ ।’

एमालेबाहेक अरु कसैले देशको विकास गर्न नसक्ने बताउँदै अध्यक्ष ओलीले बताउनुभयाे ।

कांग्रेसलाई डेमोक्रेसी शब्द मन पर्ने तर व्यवहार मन नपर्ने बताउँदै उहाँले भन्नुभयो – ‘गैर आवसिय नेपाली संघ निमार्ण भएको थियो, कांग्रेस डेमोक्रेसी भन्ने शब्द भनि रहन्छ, तर व्यवहार गर्दैन, सम्मेलन हुन थाल्यो भने कुर्सी हान्छन्, त्यहाँ छलफल पो हुनुपर्थ्याे हाेला, धन्न सम्मेलन नेपालमा भयो नभए विदेशमै बेइजत हुन्थ्यो ।’

माओवादी अध्यक्ष प्रचण्डले परिवारबाहेक अरु कसैलाई नहेरेकाे बताउँदै अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘१७ हजार मानिस मारिए, विधुवा छन् कति, एकल छन् कति, टुहुरा छन् कति बेसहारा आमाबुवा सहारा विहिन अवस्थामा छन् कति, शरिरमा गोलि लिएर कोहि ह्वइल चियरमा छन्, कोही बैशाखी टेकेर हिडेका छन्,कोही विस्ताराबाट उठ्न सकेका छैनन्, तर सञ्चालन गर्ने नेता, तिनका परिवार, तिनका आफन्त मैंले भनिरहनु पर्दैन, जो आफ्नै ठाउँ चितवन टिक्न नसकेर गोरखा जान्छ, विदेशमा त्यस्ताका पछि लागेर संगठन बनाएर हुन्छ के ?’

अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी हुनै नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘पार्टी फुटाउने, १५ वर्ष यस पार्टीको नेतृत्व गर्ने, अर्को १३ वर्ष नेतृत्व गर्नेमाथि बसेर रोजीराेजी खाने ठूला-ठूला पद र ओहोदा उनीहरुलाई चाहिने, प्रधानमन्त्री हुनुपर्ने, हुँदा हुँदै एकछिन नपाउने बित्तिकै कांग्रेसको पुच्छर भएर झिँगा धपाएर वामपन्थी हूँ भन्ने ?’

नेपाली कांग्रेसले गरेका कर्तुतको साक्षी इतिहास रहेको बताउँदै ओली प्रश्न गर्नुभयो – ‘२००८ सालमा कांगे्रसका सभापति मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री हुने बित्तिकै भारत गएर नेपालको उत्तरी सिमानामा दक्षिणी छिमेकिका १७ ओटा मिलिट्री चेकपोष्ट राख्ने भनेर सम्झौता गरे यो भन्दा सावभौशत्ता र स्वाधिनताको उल्लंघन गर्ने नांगो नाच के हुन्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय