बाइक नि छैन भन्नेलाई भोट नदिनु – आरजु

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा बेलाबेला आफ्नो अभिव्यक्तिका कारण विवादमा पर्ने गर्नुहुन्छ । आज फेरि उहाँ विवादमा आउनुभएको छ ।

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उहाँले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिनुभयो । त्योपनि विवादित भयो ।


केही दिन अघिमात्र उहाँले बालुवाटारको ढोका मत दिने सबैलाई खुल्ला हुन्छ भन्नुभयो । त्यति मात्र हैन आफ्नो संस्थाले फ्रि रुपमा विदेशमा काम गर्न पठाउँने आश्वासन समेत दिनुभयो ।

कैलालीको धनगढी उपमहानगरपालिकामा उहाँले वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोभ दिँदा पनि उहाँ चर्चामा आउनुभएको थियो ।

देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताउनुभयो । उहाँले डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताउनुभएको थियो ।

अहिले गृह जिल्ल्लाका विभिन्न चुनावी सभामा सम्बोधनका लागि यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी डडेल्धुरामा हुनुहुन्छ । सोही क्रममा शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गर्नुभयो । मोटरसाईकलपनि छैन भन्नेलाई जिताएर विकास नहुने उहाँको दावी थियो ।

‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उहाँले भन्नुभयो’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई छान्नुस। नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जितानुस्।’

यहाँ प्रमुख प्रतिस्पर्धी मानिएको नेकपा (एमाले) ले उम्मेदवारी नै दिएको छैन । स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका सागर ढकालले टक्कर दिने दावी गर्दै आउनुभएको छ ।

उहाँले हजुरबुबालाई विदा गरेर आफू नाती पुस्ताले विकासको स्वाद चखाउने दावी गर्दै आउनुभएको छ । उहाँले डडेल्धुराका अधिकांश मतदाताको अवस्था अनुसार आफू मोटरसाइकलपनि प्रयोग सक्ने हैसियत नहुने भएकाले खर्च अति न्युन गर्ने दावी गर्नुभएको छ ।

चुनावी घरदैलोमा जाँदा केही थान मोटरसाईकलमा जाने र जनताकै घरमा पाकेको भात खाने उहाँको दावी छ । देउवाले भने धोको पुग्नेगरी खर्च गरिरहेको देखिन्छ । हेलिकोप्टरबाट मात्र सवार, एउटा सवारीमापनि ५० भन्दा बढी गाडीको लस्कर देउवाको तामझाम बेग्लै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय