गठबन्धन सातुको डल्लो हो : ओली

स्याङ्जा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता तथा चुनावी गठबन्धनका साझेदार दललाई सातुको डल्लो र पिलोको उपमा दिएका छन्।

पुतलीबजार नगरपालिका-१ स्थित स्याङ्जा सदरमुकाममा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सातुको डल्लामा पानी परेपछि फुस्किएझैँ मंसिर ४ को निर्वाचनपछि गठबन्धन सरकारका दिन सकिने बताए।


उनले भने, ‘गठबन्धन नामको पिलोलाई मंसिर ४ मा निचोरेर फाल्नुपर्छ।’ म्यादी प्रहरी जतिको पनि सत्ता गठबन्धनको म्याद नरहेको जिकिर गर्दै उनले चुनावपछि बहुमतको सरकार एमालेले नै बनाउने जिकिर गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेसँग लड्न नसकेर ५ दलको गठबन्धन बनेको बताए। गठबन्धनसँग विचार, नीति, सिद्धान्त केही नभएको जनाउँदै नेकपा एमालले राष्ट्रवादी र विकास गर्ने पाटी भएको उनले दाबी गरे।

संसद र राष्ट्रपतिको अधिकार खासेर अदालतबाट बनेको सरकारले राम्रो काम गर्न नसकेको उनको भनाइ छ। बाग्लुङमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर हेलिकोप्टर चढेर स्याङ्जा आएका ओलीले विसं २०४२ सालमा स्याङ्जा जेल जीवनको स्मरण गरे।

उनले एमालेलाई विजयी गराउन आग्रह गरे। जिल्लाको समस्या समाधान तथा अपुरो रहेका विकासका योजना पूर्णताका लागि एमालेले जित्नैपर्ने बताए। देशको भविष्य निर्माणको फैसला गर्ने दिन निर्वाचन भएकाले सही पार्टी रोज्न आग्रह गरे।

कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार पदमा अर्याल, प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद मरासीनी, १ का प्रदेशसभा १ का उम्मेदवार सीता सुदास र २ का सुधिरकुमार पौडेल, २ प्रदेशसभा १ का उम्मेदवार मोहनप्रसाद रेग्मी र २ का उम्मेदवार बुद्धिमान श्रेष्ठलगायतले आफूहरुलाई मत दिई विजयी गराउन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय