झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी, २३ कात्तिक (रासस) :नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताउनुभएको छ । बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताउनुभयो ।

पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु । पश्चिमसेती परियोजना अघि बढेको छ । पश्चिमसेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।”


उहाँले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएको बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले विकासमा सन्तुलन कायम गर्न सङ्घीयता आवश्यक रहेकामा जोड दिनुभयो ।

अध्यक्ष ओलीलाई दाहालको प्रश्न : फेरि संविधान मिच्न बहुमत चाहियो ?

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मङ्सिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताउनुभयो । “आर्थिक क्रान्तिका लागि अहिलेको गठबनधन गरिएको हो । जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ । अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहङ्कार र लोकतन्त्रवादीको लडाइँ चलेकाले लोकतन्त्रले जित्नुपर्छ ।”

अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर देश समृद्ध बनाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “म जनयुद्धमै रहेका बेला दाङबाट देउवासँग टेलिफोनमा कुरा भएको थियो, देशलाई शान्ति प्रक्रियामा लैजाउ भनेर कुरा भएको त्यसपछि शान्ति प्रक्रिया अगाडि बढेको हो । उतिबेलादेखि नै माओवादी र कांग्रेसबीच सहकार्य भएको हो ।”

उहाँले दुईतिहाइको सरकारको नेतृत्व गरेको तत्कालीन ओली सरकारले संविधान च्यातेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “दुईपटक संसद् विघटन गर्ने ओली अहिले बहुमत चाहियो भनिरहेका छन् । फेरि किन बहुमत चाहिएको हो ? फेरि किन दिने संविधान मिच्न ? अधिकार कुन्ठित गर्न भोट दिनुपर्ने हो भनेर प्रतिप्रश्न गर्नुपर्छ ।” उहाँले सुदूरपश्चिमको जीवनस्तर माथि उकास्न सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताउनुभयो ।

बैतडीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहनुभएको छ । प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय