काठमाडौं : पिपुल्स हाइड्रोपावरले शुक्रबार कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तासमेत गरी प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।
यो मध्ये ५% अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ
रेटिङ एजेन्सी केयर नेपालले पिपुल्सको आइपीओलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । केयर नेपालले जनवरी ६, २०२२ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी डिसेम्बर २०२२ सम्म बाहल रहनेछ ।
कति कित्ताका लागि दिने आवेदन ?
पिपुल्सको आइपीओ पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिन्छ । कम्पनीले सर्वसाधारणका लागि ५१ लाख ५७ हजार ८८० कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा, पिपुल्सको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ५ लाख १५ हजार ७८८ जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
आयोजना सम्बन्धी विवरण
पिपुल्स हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भएको हो । २०६४ साल असोज २२ गते प्राइभेट कम्पनीका रुपमा दर्ता भएको हो । पछि २०७५ फागुन १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएर कारोबार गर्दै आएको छ । यसको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरमा रहेको छ । पिपुल्स हाइड्रोपावरको आयोजना स्थल (जलविद्युत केन्द्र) लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नं. ५ मा अवस्थित् रहेको छ ।
यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७६ भदौ १९ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र वि.सं २१०६ फागुन २० गतेसम्म बाहल रहने कम्पनीको भनाई छ । आयोजनाको कुल लागत १० अर्ब ३९ हजार रुपैयाँ र प्रतिमेगावाट लागत करिब १९ करोड २४ लाख ७ हजार रुपैयाँ रहेको छ । यसको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९.८० वर्ष रहेको छ ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण
पिपुल्स हाइड्रोपावरको अधिकृत पुँजी ३ अर्ब २० करोड रुपैयाँ र जारी पुँजी पनि ३ अर्ब २० करोड रुपैयाँ नै रहेको छ । योमध्ये २ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ३२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको थियो । तथापि, उक्त समयमा ८ लाख ६ हजार ३९० कित्ता सेयर बिक्री भएको थिएन ।
उक्त बिक्री हुन बाँकी सेयरसहित ५६ लाख ६ हजार ३९० कित्ता हाल बिक्री गर्न लागेको छ । हाल बिक्री गर्न लागेको आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ७५%, सर्वसाधारण हिस्सा २५% हुनेछ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ सम्म चुक्ता पुँजी वृद्धि गर्ने कुनै योजना बनाएको छैन । यस अवधिसम्म आइपीओ बिक्रीपछि कायम हुने ३ अर्ब २० करोड रुपैयाँ पुँजी नै यथावत् रहनेछ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म पिपुल्सले २७ करोड २७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०८१–८२ मा ६९ करोड २० लाख ९७ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसा र आव २०८१–८२ मा २१ रुपैयाँ ६३ पैसा पुग्ने प्रक्षेपण रहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ५२ पैसा पुग्ने प्रक्षेपण छ ।
प्रमुख कार्यकारी अधिकृत र आधारभूत सेयरधनीहरु
यस कम्पनीमा केशव बहादुर रायमाझीले सबैभन्दा धेरै ४ लाख २५ हजार कित्ता सेयर लगानी गरेका छन् । उनी कम्पनीको प्रबन्ध सञ्चालकसमेत हुन् । यस्तै, भीमलाल पौड्यालले ४ लाख कित्ता सेयर लगानी गरेका छन् । उदय नेपाली श्रेष्ठले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host