गोकुल बास्कोटाको चुनावी घरदैलो : ‘पानी माग्नुभयो, आयो नि; बाटो माग्नुभयो, भयो नि ?’

चोकमा ठूलो स्वस्तिक चिह्न बनाइएको छ । हातमा फूल र माला लिएर नेकपा एमालेका कार्यकर्ता एवं समर्थकहरू लस्करै उभिएका छन् ।४०/४५ जनाको लस्कर छ । वरिपरि मतदाताहरू भीडभाड छ ।

स्थान : पाँचखाल नगरपालिका– २, तीनकुने, काभ्रे ।


समय : बिहान ९ बजे ।

तीनकुने चोकको बाँयातर्फबाट सूर्यअंकित झण्डाहरू फहराउँदै आधा दर्जन गाडी लस्करै आइपुगे । त्यहीमध्ये एक गाडीबाट ओर्लिए, गोकुल बास्कोटा ।

पूर्वमन्त्री बास्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । उनी प्रदेशसभा सदस्य पदका उम्मेदवार कुमार खकुरेलसहित चुनावी घरदैलोमा तीनकुने आइपुगेका थिए ।



त्यहाँ बास्कोटासहित प्रदेशसभा सदस्य पदका उम्मेदवार खकुरेललाई एकपछि अर्का कार्यकर्ता एवं समर्थकले फूलमालाले स्वागत गरे ।

स्वागत सत्कारको कार्यक्रम सकिएपछि गोकुलले मन्तव्य राखे ।

‘हामीलाई चाहिएको तपाईंहरूको जीवनमा खुशीयाली हो । तपाईंहरूको जीवनमा सुख हो । तपाईंहरूले पहिले पनि साथ दिनुभएको छ, फेरि पनि साथ दिनुहोस्, सहयोग गर्नुहोस्,’ सम्बोधनका क्रममा मत माग्दै बास्कोटाले भने, ‘कुरा गर्नेलाई होइन, काम गर्नेलाई छान्नुहोस् । हामी तपाईंहरूको जुवामा जोतिएर तपाईंको सेवा गर्न तयार छौं ।’

अब आफूले आफ्नो अधिकांश समय युवाका लागि पनि खर्चने उनले बताए ।

आधा घण्टाको कार्यक्रमपश्चात बास्कोटाको टोली तीनकुने चोकबाट निस्कियो । अगाडि बढ्दै गर्दा रामपुरमा दुई स्थानमा गाडी रोकिए । त्यहाँ पनि कार्यकर्ता र मतदाताले फूलमाला लगाइदिए । सगुन खुवाए ।

त्यहाँबाट टोली अरनिको राजमार्गमा निस्कियो । वडा नम्बर –४ लामीडाँडामा अवस्थित नेपाल आदिवासी जनजाति महासंघको कार्यालय परिसरमा जम्मा भएका मतदातासामु बास्कोटाले केही मिनेट सम्बोधन गरे ।

त्यसपश्चात गाडीहरू फेरि लामबद्ध हुँदै लामीडाँडा बजारबाट उकालो लागे । वडा नं. ७ जोरपिपलमा पुगेर गोकुलले केही मिनेट सम्बोधन गरे ।

‘तपाईंहरूका केही समस्या भए भन्न सक्नुहुन्छ ?’ एक कार्यकर्ताले माइकबाट स्थानीयलाई सोधे । त्यसैक्रममा गोकुलले मतदाताहरूको बीचमा गएर एक महिलालाई सोधे, ‘पाँच वर्षअघि खानेपानीको समस्या भयो भन्नुभएको थियो । पानी आयो नि ?’ ती महिलाले खुशी हुँदै सांकेतिक जवाफ फर्काइन् ।

उनले अब सिँचाइको काम हुन लागेको भन्दै मत हाल्न आग्रह गरे ।

त्यसपश्चात प्रचारप्रसार टोली वडा नं. ८ होक्सेमा पुग्यो । त्यहाँ पनि गोकुलसहितका उम्मेदवारहरूले मतदाताबाट फूलमालाले स्वागत पाए ।

बस्कोटाले केही मिनेट सम्बोधन गरे, अनि टोली वडा नं. ९ तर्फ उकालो लाग्यो, जहाँ प्रसिद्ध पलाञ्चोक भगवती मन्दिर अवस्थित छ ।

मन्दिरलाई दाहिने पारेर बास्कोटा भित्र प्रवेश गरे । दर्शन गरे । पुजारीको हातबाट टीका लगाए । पलाञ्चोकमा बास्कोटाले फूलमालाले स्वागत पाए । त्यहाँ उनले घर-घरमा पुगेर मतदातासँग भेटे ।

शुक्रबार लोकान्तरले बास्कोटालाई झण्डै चार घण्टा पछ्याउँदा उनीसँग मतदाताले गुनासा राखेको खासै सुनिएन ।

केही मतदाताले सामान्य गुनासो सुनाउँदा बास्कोटा भन्थे, ‘यति काम गर्दा पनि गुनासो आउँछ भन्ने मलाई के थाहा ?’

काभ्रे– २ मा चुनावी जीत दोहोर्‍याउने लक्ष्यका साथ गोकुलले दिनदिनै घरदैलो लगायतका कार्यक्रम गरिरहेका छन् ।

‘पानी माग्नुभयो, आयो नि; बाटो भन्नुभयो, भयो नि ? मतदाताहरूलाई गोकुलले सोध्ने गरेका छन् । आफूले गरेको विकास देखाएर उनले भोट मागिरहेका छन् ।

उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका शिवप्रसाद हुमागाईंसँग छ ।

चुनावी अभियानका क्रममा मतदाताले उत्साहजनक प्रतिक्रिया दिएको बास्कोटाले दाबी गरे । ‘मतदाताले हाम्रो साथ र आशीर्वाद तपाईंलाई छ, अगाडि बढ्नुहोस् भनरिहनुभएको छ,’ बास्कोटाले भने ।

तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग हो ? भन्ने प्रश्नमा बास्कोटाले थपे, ‘यो डेमोक्रेटिक प्रोसेस हो । १६ जना साथीहरू हुनुहुन्छ क्यारे मसँग प्रतिस्पर्धामा, मेरो लागि सबै सशक्त । सबैविरुद्ध मैले जीत हासिल गर्नुपर्छ । त्यसमा सफलता प्राप्त गर्छु भन्ने मेरो आत्मविश्वास छ ।’

उनले दलीय व्यवस्थामा बहुमतको अर्थ हुने भन्दै स्वतन्त्रले कतै एक सीट जितेर केही पनि गर्न नसक्ने दाबी गरे ।

स्वतन्त्र उम्मेदवारहरूको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै बास्कोटाले भने, ‘उहाँहरूको चुनाव लड्न पाउने प्रजातान्त्रिक अधिकारलाई चाहिँ म सम्मान गर्छु । तर, मेरो नीतिगत प्रश्न के हो भने, एक–दुईजना स्वतन्त्र व्यक्तिले जितेर केही पनि गर्न सक्दैनन् । उनीहरूको नीति तथा कार्यक्रम लागू हुन सक्दैन । उनीहरूले कसको सरकार बनाउँछन् ? आफैं प्रधानमन्त्री बन्न जम्मा एउटा सीट जित्या हुन्छ । सरकार बनाउनका लागि १ सय ३८ सीट चाहिन्छ । स्थानीय तहमा त्यो अलिअलि प्रभावकारी पनि होला, तर आमनिर्वाचनमा त्यो सम्भव देख्दिनँ म ।’

उनले आफूले गरेका विकास निर्माणका उल्लेख्य कामका कारण मतदाताले पुनः निर्वाचित गराउने दाबी गरे । ‘मैले जित्ने आधार भनेको त उ यही (मन्दिरतर्फ देखाउँदै) हो, हेर्नुस् । यो मन्दिर भत्किएर लथालिंग थियो,’ बास्कोटाले थपे, ‘यही बाटो हेर्नुस्, कस्तो थियो, (अहिले कस्तो छ) । जनताले यही खोजे, यही भयो नि !’



उनले थपे, ‘मैले बारम्बार भन्ने गरेको छु, यो संरचना (फेरि मन्दिर देखाउँदै)मात्र होइन, थुप्रै परियोजनालाई हामीले तीव्र गति दिएका हौं । तर, १८ महिनायता कुनै पनि काम भएको जनताले देखेका छैनन् । सरकार त अहिले पनि छ । सरकार नाम गरेको एउटा उँघेर बस्ने मान्छे सिंहदरबारको कुर्सीमा छ, तर केपी ओली सरकार हुँदा खेरी जुन बिन्दुमा पुगेर जुन–जुन काम रोकिएको छ, त्यहाँँबाट एक पाइला पनि अघि सरेको छैन । त्यसकारण पनि मैले चुनाव जित्छु । चुनाव जित्ने आधार त यही पनि भयो नि !’-सुशील नेपाल/विश्वास खनाल/lokaantar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय