ब्याजदर नबढ्ने भएपछि नेप्सेमा सुधार


मंसिर महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन ओरालो लागेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।



यस दिन नेप्से परिसूचक १३.४० अंक बढेर १९११.२६ विन्दुमा पुगेको छ। यस दिन बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाको लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। सो अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनामा कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ब्याजदर घटाएका छन्। सोही कारण यस दिन बजार बढ्न टेवा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९२ अंक बढेको छ।

नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २३२ स्टकको १७ हजार ७०२ पटकको कारोबारमा ८५ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको २४ लाख ९५ हजार कित्ता शेयर कारोबार भएको छ।

बुधबार सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३२ रुपैयाँ १० पैसा बढेर ३५३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गणपति लघुवित्तको शेयरमूल्य ७.७१ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक र रिडी पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक ४.१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बुधबार १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय