अनलाईनबाट भईरहेको विश्वकपको लाइभ रोक्न निर्देशन

नेपाल दुरसंचार प्राधिकरणले अनलाईनबाट भईरहेको विश्वकपको प्रसारण रोक्न सम्पूर्ण इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले फेसबुक, ट्वीटर, युट्युब, लगायत अन्य अनलाइन माध्यमबाट भईरहेको विश्वकपको प्रसारण रोक्न निर्देशन दिएको हो ।

प्राधिकरणले इन्टरनेटमा आधारित ओटीटी प्लेटफर्महरुबाट अनधिकृत प्रशारण हुँदा विश्वकप प्रसारणको लागि अधिकार लिएको संस्थाहरुको कानुनी अधिकार हनन र आर्थिक तथा व्यवसायिक नोक्सानी पर्ने भएकोले त्यस्ता अनधिकृत प्रसारणलाई बन्द गराइदिन इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेको हो।

फिफा वर्ल्ड कप फुटबल कतार २०२२ को नेपालभर प्रत्यक्ष प्रशारणको अधिकार मिडिया हबले पाएको छ । आधिकारिक रुपमा हिमालयन टेलिभिजन एच.डी. प्रिमियरबाट मिडियाहबले विश्वकप प्रत्यक्ष प्रशारण गरिरहेको छ। नेपालको लागि विश्वकप प्रसारणको सम्पूर्ण अधिकार मिडिया हबमा रहेको छ ।

तर मिडियाहबले विश्वकप हेर्नको लागि ग्राहकसँग थप ५६५ रुपैयाँ असुल गर्ने निर्णय गरेपछि अधिकांश दर्शकले विभिन्न माध्यमबाट अनलाइन बाटै विश्वकप हेर्न थालेका थिए । अहिले प्राधिकरणले अनलाइनबाट हुने सम्पूर्ण प्रसारण रोक्ने ब्यबस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो।

यो पनि -फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।खेल राति ९ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । पहिलो खेलमा सफलता पाएको दुवै टोली लगातार दोस्रो सफलता हात पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

नेदरल्यान्ड्सले सेनेगललाई तथा इक्वेडरले कतारलाई समान २–० ले पराजित गरेको थियो ।खेलको अन्तिम समयतिर कोडी गाक्पो र डेभी क्लासेनले गोल गरेपछि नेदरल्यान्ड्सले सेनेगललाई हराउँदै फिफा विश्वकपको समूह चरणमा लगातार सातौं जित हात पान सफल भएको थियो ।

नेदरल्यान्ड्सले आफ्नो पछिल्लो तीन विश्वकप (२००६, २०१० र २०१४) मा सुरुवाती दुई खेल जितेको छ । नेदरल्यान्ड्सले फिफा विश्वकपमा समूह चरणका ३१ मध्ये दुई खेल मात्र हारेको छ । नेदरल्यान्ड्स सन् १९७८ मा समूह चरणको दोस्रो खेलमा स्कटल्यान्ड र सन् १९९४मा बेल्जियमसँग दोस्रो राउन्डमै पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय