नयाँ टीएमएस ल्याउने अन्तिम तयारीमा जुट्दै ब्रोकरहरु, ३४ वटाले ल्याउँदै, के छ खास विशेषता ?

काठमाडौं : ३४ ब्रोकर कम्पनीले आफ्नो छुट्टै टीएमएस सञ्चालनामा ल्याउने भएका छन् । टीएमएस सञ्चालनका लागि उनीहरुले नेप्सेमा निवेदन पनि दिएका हुन् । निवेदन दिएका सबै कम्पनीलाई आफ्नो छुट्टै टीएमएस सञ्चालन गर्नका लागि नेप्सेले स्वीकृति दिइसकेको प्रवक्ता मुराहरी पराजुलीले बताए । उनले भने, ‘ब्रोकरहले नयाँ टीएमएसका लागि नेप्सेमा पेपर प्रिजेन्टेसन गरिसकेका छन् । त्यसमा सबै कुरा ठीक छ । अब हामीले सफ्टवेयरको डेमोस्ट्रेसन गर भनेका छौं ।’ नयाँ टीएमएसका लागि नेप्सेले बनाएको नियममा नै रहेर पेपर प्रिजेन्टेसन गरेको उनले जानकारी दिए ।

अहिले नयाँ टीएमएस ल्याउनका लागि नेप्से र ब्रोकरहरु नियममित रुपमा छलफलमा रहेको ब्रोकरहरुले बताएका छन् । हाल ५० वटा ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेका छन् । उनीहरुमध्ये ३४ वटाले नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेका हुन् भने बाँकी १६ वटा कम्पनीले नेप्सेकै नै टीएमएस सञ्चालन गर्ने भनेर अहिलेसम्म नयाँका लागि निवेदन दिएका छैनन् । आफूहरुले श्रीलंकामा प्रयोग भइरहेको टीएमएस नेपालमा ल्याउन लागेको त्रिशक्ति सेक्युरिटिजका अध्यक्ष टंकप्रसाद गौतमले बताए ।

कहिलेबाट सञ्चालनमा आउला ब्रोकरको आफ्नै टीएमएस ?

सन् २०२३ जनावरीदेखि ब्रोकरहरुले आफ्नो छुट्टै टीएमएस सञ्चालनमा ल्याउने गरी काम भइरहेको त्रिशक्ति सेक्युरिटिजका अध्यक्ष गौतमले नेपाली पैसालाई बताए । उनले भने, ‘ब्रोकरहश्रले ल्याउने आफ्नै टीएमएसका लागि अहिले काम भइरहेको छ । सम्भवतः सन् २०२३ को जनावरीदेखि नै सञ्चालनमा आउँछ होला ।’ अहिले सफ्टवेयर सम्बन्धी प्राविधिक काम भइरहेको छ, उनले भने, ‘प्राविधिक काम भएकाले यसलाई सञ्चालनमा ल्याएपछि मात्रै कस्तो काम गर्छ भन्ने थाहा हुन्छ ।’

साथै, श्रीलंकामा प्रयोग भइरहेकाले सफ्टवेयरले प्रभावकारी रुपमा काम गर्ने ब्रोकरहरुको अपेक्षा छ । यसअघि ब्रोकरहरुले साउन १ गतेदेखि आफ्नै टीएमएस सञ्चालनमा ल्याउने भने पनि ल्याउन सकेका थिएनन् । ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याएसँगै लगानीकर्ताले पनि उनीहरुकै टीएमएस खोल्नुपर्नेछ । नेप्सेका प्रवक्ता पराजुलीले भने, ‘आफ्नो ब्रोकरले नयाँ टीएमएस ल्याएपछि लगानीकार्ताले पनि छुट्टै टीएमएस खोल्नुपर्छ ।’

ब्रोकरहरुले ल्याउन लागेको टीएमएसमा के छ खास विशेषता ?

ब्रोकरहरुले ल्याउन लागेको नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । यसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ ।

अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरी यस प्रणालिमा तथ्यांकहरु राखिने छन् । यसले स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरु रहेकाले सेयर कारोबार निकै सहज हुने उनको दाबी छ । नयाँ प्रणालीबाट कारोबार चुस्त, छरितो र पारदर्शी हुने दाबी गरिएको छ ।

लगानीकर्तालाई के फाइदा ?

ब्रोकरहरुले ल्याउन लागेको टीएमएस मोबाइल एप्लिकेसन सहितको भएकाले यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने अध्यक्ष मैनालीले नेपाली पैसालाई जानकारी दिए । लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हर–हिसाब तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ । त्यस्तै, तथ्यांकहरुलाई विश्लेषण गरेर आफै प्राविधिक अध्ययन गरेर सेयरमा लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय