माया खोलाको आइपीओ बाँडफाँट मिति तय, सेयर पाउने भाग्यमानी कति ?

काठमाडौं : माया खोला हाइड्रोपावरकोआइपीओ बिहीबार (माघ २६ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार बिहान ९.३० बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । यता, माया खोला हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७.९६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा १३ लाख ९७ हजार ७२३ जनाले कुल १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ९९ हजार २०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ९८ हजार ५२३ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यो मध्ये १०% अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघिनै निष्काशन गरिसकेको छ । यसैगरी, ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इक्रा नेपालले निष्काशनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय