एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिनुअघि हेरौं कस्तो छ कम्पनीको अवस्था

काठमाडौं : एसियन हाइड्रोपावरले माघ २७ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ जारी गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । जसमध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै, ५% अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २% (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् । यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।



रेटिङ

रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ साल असार १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० वैशाख १५ गतेसम्म बाहल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

एसियन हाइड्रोपावरको आइपीओ पाउन पनि लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिन्छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा, एसियन हाइड्रोपावरको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ६९ हजार ७२० जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।


आयोजना सम्बन्धी विवरण

‘एसियन हाइड्रोपावर लिमिटेड’ कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ माघ ६ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । त्यसपछि, २०७६ असार २५ पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । यसको रजिष्टर्ड कार्यालय ललितपुर महानगरपालिका वडा नं २ सानेपामा रहेको छ भने इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १० मा जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नै ११ मा जलविद्युत आयोजनास्थल रहेको छ ।

कम्पनीले इलाम जिल्लास्थित जोगमाई खोलाको पानी प्रयोग गरी ६२ सय किलोवाट जडित क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७६ असार १२ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २१११ असार ११ गतेसम्म बाहल रहने कम्पनीले जनाएको छ । आयोजनाको अनुमानित कुल लागत १ अर्ब ३१ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

एसियन हाइड्रोपावरको अधिकृत र जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड २० लाख रुपैयाँ रहेको छ । यो संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । संस्थापक सेयरधनीको हिस्सा ६५.२९% र आयोजना प्रभावितसहित सर्वसाधारण सेयरधनी समूहको हिस्सा १०% छ भने सर्वसाधारणको हिस्सा २४.७१% रहनेछ । आइपीओ जारी गरेपछि यसको चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् ३४ करोड रुपैयाँ नै पुग्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०८१–८२ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने ३४ करोड रुपैयाँ पुँजी नै यथावत रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गर्ने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ ।

त्यस्तै, २०८०—८१ मा ४ करोड ८१ लाख २१ हजार रुपैयाँ र २०८१–८२ मा ५ करोड ८२ लाख ८७ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ११ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ५५ पैसा पुग्नेछ । आर्थिक वर्ष २०८०–८१ सम्ममा प्रतिसेयर आम्दानी १४ रुपैयाँ १५ पैसा पुग्नेछ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७० पैसा हुने प्रक्षेपण छ ।

प्रमुख कार्यकारी अधिकृत र आधारभूत सेयरधनीहरु

एसियन हाइड्रोपावरमा मंगला अमात्यको सबैभन्दा धेरै ५ लाख कित्ता सेयरमा स्वामित्व रहेको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भानुभक्त पोखरेलले सम्हालेका छन् । उनले स्नातकोत्तर गरेका छन् भने विगत ३२ वर्ष देखि जलविद्युत तथा उर्जा क्षेत्रमा आवद्ध रहेर अनुभव हासिल गरेको कम्पनीले जानकारी गराएको छ । विजय बहादुर राजभण्डारीले सञ्चालक समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय