पेट्रोलियम व्यवसायीले बन्द गरे ढुवानी, यी ४ पम्पबाहेक अन्यत्र तेल अभावको संकेत

इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिशन नबढेपछि पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् ।

 

 

नेपाल आयल निगमले बिहिबार रातीबाट लागू हुनेगरी इन्धनको मूल्य बढाएपनि कमिशन नबढाएपछि पेट्रोलियम व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका हुन् ।

निगमले बिहीबार मूल्य बढाउँदा बिक्रेतालाई दिँदै आएको कमिशनको दर पुरानै कायम राखेपछि व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरिदिएका हुन् । अत्यवश्याक बस्तुको सूचीमा रहेको इन्धनको ढुवानी बन्द भएपछि अभावको संकेत देखिएको छ ।

निजी पम्पहरुले तेल नउठाएपनि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र साझा पेट्रोल पम्पले इन्धन लोड गरेका छन् । निजी पम्पहरुका ट्याङकर डिपोमा पुगेपनि इन्धन लोड भने गरेका छैनन् ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बिक्रेता कमिसनको हिसाब नमिलेकाले इन्धन ढुवानीका लागि देशभरको पीडीओ जारी नभएको बताएका छन् ।

बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएका थिए । बिहीबार बढेको मूल्य अुनसार व्यवसायीले कमिशन पाउँदा प्रतिलिटरमा थप ०.१५ पैसा कमिशन पाउँथे । तर, निगमले कमिशन बढाएन ।

निगमले भने निजी पम्पहरुले इन्धन नउठाए वैकल्पिक माध्यमबाट भएपनि इन्धनको आपूर्ति सहज बनाइने दाबी गरेको छ ।

थानकोट डिपोबाट औसतमा दैनिक ७ सय देखि ८ सय किलोलिटर पेट्रोल र १ हजारदेखि ११ सय किलोलिटर डिजेल बिक्री हुने गरेको छ ।

तर, एक दिन मात्रै ढुवानीमा अवरोध हुँदा त्यसको असर बजार मागमा पर्ने र इन्धनको अभाव देखिन सक्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय