एक कित्ता सेयरको भाउ ४ लाख ८७ हजार डलर, यी हुन् विश्वका १० सर्वाधिक महँगा स्टक

काठमाडौं : जब सेयर वा स्टकको चर्चा हुन्छ तब अधिकांश मानिसहरुले मस्तिष्कमा प्रमुख स्टक एक्सचेन्जहरुमा सूचीकृत कम्पनीहरु नै आउने गर्छन् । त्यसपछि लगत्तै सूचीकृत कम्पनीहरुको सेयर भाउतर्फ ध्यान जाने गर्दछ । सामान्यतयाः पब्लिक कम्पनीहरुको मूल्यांकन स्टक एक्सचेन्जमा हुने त्यसको बजार पुँजीकरणलाई आधार मानेर गरिएको हुन्छ ।

 

 

जुन कम्पनीको कुल सेयर संख्या र प्रतिसेयर बजार भाउलाई गुणन गरेर निकालिन्छ । तसर्थ, कुनै पनि कम्पनीको सेयरको भाउ उक्त कम्पनीको बजार मूल्यको सूचक हो । अधिकांश मानिसहरुले कुनै चिज कति मूल्यवान छ भन्ने कुराको निक्र्यौल गर्न त्यसको भाउलाई आधार बनाएका हुन्छन् । अर्थात भाउ जति बढी भयो त्यति नै राम्रो वा मूल्यवान हुन्छ भन्ने आम मनोविज्ञान रहेको हुन्छ ।

तसर्थ, सेयर बजारमा पनि कहिलेकाहीँ अत्याधिक महँगो भाउ भएका कम्पनीहरु नै लगानीकर्ताले खोजी रहेका हुन्छन् । विश्वमा केही यस्ता कम्पनीहरु पनि छन् जसको एक कित्ता सेयर किन्नका लागि पनि औसत लगानीकर्ताको क्षमताभित्र पर्न नसक्ने देखिन्छ । यहाँ, सन् २०२२ मार्च १० को क्लोजिङ भाउका आधारमा विश्वका सबैभन्दा महँगा १० सेयरहरुको चर्चा गरिएको छ ।

 

१) बर्कसायर हाथवे (मूल्य : ४,८७,८२० डलर)
विश्व प्रख्यात भ्याल्यू इन्भेष्टर वारेन बफेटको कम्पनी ‘बर्कसायर हाथवे’ को सेयर भाउ विश्वमै सबैभन्दा महँगो हो । यसको १ कित्ता सेयरकोे भाउ ४ लाख ८७ हजार ८२० अमेरिकी डलर रहेको छ । हाल यसको बजार पुँजीकरण ७ खर्ब १९ अर्ब डलर भन्दा बढी रहेको छ । हाथवे अमेरिकाको नेब्रास्कामा अवस्थित बहुराष्ट्रिय होल्डिङ कम्पनी हो । यो कम्पनी सन् १८३९ मा स्थापना भएको थियो ।
२) लिन्ट एन्ड स्प्रिङ्ली (१,०७,९११ डलर)
स्वीजरल्यान्डको चक्लेट कम्पनी लिन्ट एन्ड स्प्रिङ्लीको १ कित्ता सेयरको भाउ १ लाख ७ हजार ९११ अमेरिकी डलर रहेको छ । यसको बजार पुँजीकरण २४ अर्ब डलर भन्दा बढी रहेको छ । स्प्रिङ्ली सन् १८९५ मा स्वीजरल्यान्डको जुरिचमा स्थापना भएको थियो ।
३) एनभीआर इन्कर्पोरेटेट (४,७७६.५६ डलर)
अमेरिकी कम्पनी ‘एनभीआर’ को १ कित्ता सेयरको भाउ ४ हजार ७७६.५६ अमेरिकी डलर रहेको छ । यसको बजार पुँजीकरण १६ अर्ब डलर भन्दा बढी रहेको छ । सन् १९८० मा स्थापना भएको यस कम्पनीको हेडक्वाटर अमेरिकाको भर्जिनियामा रहेको छ । यो कम्पनी घर तथा आवास निर्माणमा आवद्ध रहेको छ ।
४) सीबोर्ड कर्पोरेसन (३,८६१.९९ डलर)
कृषिदेखि ढुवानीसम्मका विभिन्न व्यवसायमा संलग्न बहुराष्ट्रिय कम्पनी ‘सीबोर्ड कर्पोरेसन’ को सेयर भाउ प्रतिकित्ता ३ हजार ८६१.९९ अमेरिकी डलर रहेको छ । यसको बजार पुँजीकरण ४.४८ अर्ब डलर छ । यसको स्थापना सन् १९१८ मा भएको थियो ।
५) अमेजन (२,९३६.३५ डलर)
विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका जेफ बेजोसले सन् १९९४ मा ‘अमेजन’ स्थापना गरेका थिए । हाल यस कम्पनीको एक कित्ता सेयरको भाउ २ हजार ९३६.३५ डलर र बजार पुँजीकरण करिब १५ खर्ब डलर रहेको छ । अमेजनले बुधबार मात्रै १ कित्ता सेयर २० कित्ता हुने गरी ‘स्टक स्प्लिट’ गर्ने घोषणा गरेको छ ।
६) अल्फाबेट इन्कर्पोरेटेड (२,६४८.५९ डलर)
अमेरिकी बहुराष्ट्रिय प्रविधि होल्डिङ समूह ‘अल्फाबेट इंक’ गुगलको माउ कम्पनी हो । गुगल र यसका सहायक कम्पनीहरुको पुनर्संरचना गरी सन् २०१५ मा अल्फाबेटको स्थापना भएको थियो । हाल यसको एक कित्ता सेयरको भाउ २ हजार ६४८.५९ डलर रहेको छ भने बजार पुँजीकरण १७ खर्ब डलर भन्दा बढी रहेको छ ।
७) बुकिङ होल्डिङ्स इन्कर्पोरेटेड (२,०३०.३६ डलर)
‘बुकिङ डट कम’ को माउ कम्पनी बुकिङ होल्डिङ्सको स्थापना सन् १९९६ मा भएको थियो । यसले यात्रासँग सम्बन्धित प्रविधिको क्षेत्रमा काम गर्दछ । हाल बुकिङको एक कित्ता सेयरको भाउ २ हजार ३०.३६ डलर रहेको छ । बजार पुँजीकरण ८३ अर्ब डलर भन्दा बढी रहेको छ ।
८) अटोजोन इन्कर्पोरेटेड (१,८६७.९० डलर)
अमेरिकी कम्पनी ‘अटोजोन’ सवारीसाधनहरुको पाटपुर्जा तथा सामानहरुको खुद्रा बिक्रेता हो । यसको प्रतिसेयर बजार भाउ १ हजार ८६७.९० डलर र बजार पुँजीकरण ३८ अर्ब डलर भन्दा बढी रहेको छ ।
९) केबल वान इन्कर्पोरेटेड (१,४७७.५५ डलर)
अमेरिकाको ब्रोडब्यान्ड सञ्चार प्रदायक कम्पनी केबल वानको स्थापना सन् १९८६ मा भएको थियो । यसको प्रतिसेयर भाउ १ हजार ४७७.५५ डलर र बजार पुँजीकरण ८.९५ अर्ब डलर रहेको छ । यो अमेरिकाको सातौं ठूलो केबल सञ्चालक हो ।
१०) चिपोट्ले मेक्सिकन ग्रील (१,४६९.०३ डलर) 
सन् १९९३ मा स्थापना भएको अमेरिकी फास्टफुड रेस्टुरेन्ट चेन चिपोट्लेको व्यापार अमेरिका, बेलायत, क्यानडा, जर्मनी र फ्रान्समा फैलिएको छ । यसको एक कित्ता सेयरको भाउ १ हजार ४६९.०३ डलर र बजार पुँजीकरण ४१ अर्ब डलर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय