वैशाखभित्रै सबै आवेदकको ट्रायल परिक्षा सक्ने तयारी, यातायात मन्त्रीको निर्देशनमा लाइसेन्स आवेदन रोकियो

अगामी बैशाख भित्रै पुराना लाइसेन्स आवेदकको प्रयोगात्मक परिक्षा सक्ने गरी नयाँ अनलाइन आवेदन रोकिएको छ ।

बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहालको पहलमा नयाँ अनलाइन लाइसेन्स आवेदन रोकेर हालसम्म परेका आवेदनलाई टुङ्ग्याएपछि मात्रै नयाँ आवेदन लिने गरी प्रक्रिया अघि बढाइएको हो ।

हाल काठमाडौं उपत्यकाका यातायात कार्यालयबाट चालक अनुमति पत्र लिन र प्रयोगात्मक परिक्षामा भाग लिन तीन बर्ष भन्दा बढी कुर्नु पर्ने गरि मिति तोकिने गरेको छ ।

सेवाग्राहीले लाइसेन्स लिनकै लागि लामो समय कुर्नुपर्ने अवस्था आएपछि नयाँ आवेदनलाई रोकेर तीन सिफ्टमा प्रयोगात्मक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

बागमती प्रदेश भित्र सवारी चालक अनुमाति पत्र लिने व्यवस्था अव्यवस्थित भएको गुनासो आएपछि आइतबार बागमती प्रदेशका यातायात मन्त्री दाहालले यातायात विभागका महानिर्देशक र काठमाडौं उपत्यका भित्र रहेका सबै यातायात कार्यालयका प्रमुखहरुसँग  छलफल गरेका थिए ।

छलफलमा सवै यातायात कार्यालयका प्रमुखलाई जतिसक्दो छिटो आगामी बैशाख ३० गते भित्र हालसम्म परेका आवेदनहरुको कारवाही टुङ्गो लगाउन निर्देशन दिएका छन् भने पुराना आवेदन नसकिएसम्म नयाँ लाइसेन्सका लागि आवेदन नलिने गरी चैत एक गतेदेखि नै आवेदन रोकेको यातायात विभागले जनाएको छ ।

यातायात कार्यालय जगातीका प्रमुख राजकुमार कपालीले दुई महिना भित्र अहिलेसम्म परेको आवेदन टुङ्ग्याउने निर्णय भएको जानकारी दिए ।

उनले अहिले उपत्यकाको चार ओटा यातायात कार्यालयमा ६ लाख भन्दा बढी सेवाग्राहीको आवेदन बाँकी रहेको जानकारी दिए ।

‘मन्त्रीज्युसँग गत आइतबार समग्र यातायात कार्यालयको अवस्था र सवारीचालक अुनमति पत्रको समस्या बारे छलफल भएको थियो’ उनले भने ‘हालसम्म परेको आवेदन सकेर मात्रै नयाँमा जाने निर्णय भएको छ।’

 

गत आइतबार मन्त्री दाहालले काठमाडौं उपत्यकाका सबै यातायात कार्यालय समेत अनुगमन गरेका थिए ।

यातायात विभागका इन्जिनियर सन्तोष पोखरेले अगामी बैशाखबाट यातायात बिचौलियालाई रोक्ने गरी नयाँ अनलाइन सिस्टम सार्वजनिक गर्न लागेको बताए ।

 

‘लाइसेन्स आवेदनमा डुब्लिकेसन र मिति अगाडि सार्ने विकृति पछिल्लो समय व्यापक रुप बढेपछि सम्वन्धित  व्यक्तिले मात्रै अनलाइन फारम भर्न पाउने गरी सिस्टम विकास भइरहेको छ’ पोखरेलले भने ।

 

अहिले लाइसेन्सका लागि अनलाइन फारम भरेको ३ बर्षपछि मात्रै पालो आउने गरेको छ । लामो समय कुर्नुपर्ने भएपछि यातायात विचौलियाले मोटो रकम लिएर मिति अगाडि सार्ने र कमिसन खाने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय