७ अर्ब ३० करोड ६९ लाख २९ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमतिको पर्खाइमा

काठमाडौं : नेपाल धितोपत्र बोर्डमा यतिबेला आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या २७ पुगेको छ । २७ कम्पनीले ७ अर्ब ३० करोड ६९ लाख २९ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् । यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ६ करोड ६३ लाख ४९ हजार २८९ कित्ता सेयर बजारमा थपिनेछ । धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् ।

आइपीओ निष्कासनको लागि अनुमति माग्ने २७ कम्पनी मध्ये २० जलविद्युत् कम्पनी रहेका छन् । यसबाहेक ३ लघुवित्त, २ इन्सुरेन्स कम्पनी अरु दुईमा मुक्तिनाथ कृषि कम्पनी र डिस मिडिया नेटवर्क रहेका छन् ।धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् । प्राथमिक बजारमा आइपीओ जारी भएपछि सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ ।

किन बढ्दैछ आइपीओमा यस्तो आकर्षण ?

पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ । फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ । मागभन्दा कयौं गुणा बढी आवेदन पर्दै आएको छ । त्यसैले पछिल्लो समय १० कित्ता आइपीओ पर्न पनि भाग्यकै भर पर्नुपर्ने आवस्था आएको लगानीकर्ताले बताउदै आएका छन् । त्यसो त आइपीओकै कारण अहिले दोस्रो बजारको आकार पनि ठूलो हुँदै गएको छ ।

आइपीओपछि किनबेचका लागि दोस्रो बजारमा प्रवेश गर्नुपर्ने हुन्छ । यसआधारमा प्राथमिक बजारमा जति धेरै आवेदनकर्ता थपिंदै जान्छन्, सोही अनुपातमा दोस्रो बजारमा सहभागीहरुको संख्या पनि वृद्धि हुँदै जाने गर्छ । सीडीएससीको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्नेको संख्या ५० लाख ५७ हजार कटिसकेको छ ।

यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । संख्या बढे अनुपातमा सेयर साक्षरता भने वृद्धि हुन सकेको छैन । पछिल्ला दिनहरुमा आइपीओ जारी गरेका कम्पनीहरुको दोस्रो बजारमा आकर्षक मूल्य कायम भएकाले पनि आवेदकहरुको थप आकर्ष बढेको हो । यता, कम्पनीहरुलाई पनि लगानीकर्ताहरुको अधिक आकर्षण हुँदा पुँजी जुटाउन सहज भएको छ । कुनै कम्पनीको आइपीओ खुल्दा २७ लाखसम्मले आवेदन दिने गरेका छन् ।

पछिल्ला समयमा शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, जन उत्थान लघुवित्त लगायत अन्य थुप्रै कम्पनीहरुले दोस्रो बजारमा आकर्षक प्रस्तुति गरिरहेका छन् । सोही कारण पनि आम लगानीकर्ताको ध्यान यो बजारमा मोडिएको हो । यस्तै, प्रविधिमा भएको विकासले पनि दूरदराजका व्यक्तिहरुसमेत सेयर बजारमा आउन सकेका हुन् । घरमै बसेर आइपीओ भर्न पाइने अनि त्यसलाई दोस्रो बजारमा कारोबार गर्न पाइने सुविधा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय