बैशाखदेखि ५ अर्ब रुपैयाँ मुद्दतिमा राख्न बैंक खोज्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी बैशाखदेखि ५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्ने भएको छ। केन्द्रिय बैंकले पेन्सन तथा उपदान कोषमा रहेको साढे ३ अर्ब र अन्य कोषमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बैशाखदेखि बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्ने जनाएको छ।
केन्द्रिय बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३ अर्ब ४५ करोड रुपैँया मध्ये १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ वाणिज्य बैंक,५१ करोड ७५ लाख रुपैयाँ विकास बैंक र २७ करोड ६० लाख रुपैयाँ फाइनान्स कम्पनीहरुमा लगानी गर्ने छ। यस्तै अन्य कोषमा रहेको १ अर्ब ९३ करोड २६ लाख रुपैयाँमध्ये वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख,विकास बैंकहरुमा २८ करोड ९८ लाख र फाइनान्स कम्पनीहरुमा ९ करोड ६६ लाख लगानी गर्ने छ।

केन्द्रिय बैंकले उक्त निक्षेप २०७९ बैशाख गतेदेखि २०८० बैशाखसम्मको लागि मुद्दतिमा राख्न लागेको हो। एक वर्ष अवधिको लागि राख्न लागेको उक्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले चैत १५ गतेसम्ममा ब्याजदर प्रस्ताव गरी आवेदन पेश गरिसक्नुपर्ने छ।

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा बढी ब्याज प्रस्ताव गर्ने बैंकमा केन्द्रिय बैंकले निक्षेप राख्नेछ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय