काठमाडौँ उपत्यकाभित्र कोभिड-१९ पुष्टि

काठमाडौँ उपत्यकाभित्र मौसमी रुघाखोकी लागेको भनिएका केही बिरामीहरूको अवस्था गम्भीर बनेको र जाँच गर्दा कोभिड-१९ पुष्टि भएको अधिकारीहरूले बताएका छन्। उनीहरूले समुदायमा अझै पनि कोरोनाभाइरस सङ्क्रमण रहिरहेकाले सतर्कता अपनाउन तथा खोप लगाउन सर्वसाधारण मानिसलाई आग्रह पनि गरेका छन्।

सङ्क्रामक रोगको उपचार गरिने देशकै प्रमुख स्वास्थ्य केन्द्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि अहिलेसम्म १० जनाभन्दा बढी सिकिस्त बिरामी भर्ना भएको अधिकारीहरूले बताए। ती सबै बिरामीलाई सघन उपचार कक्षमा राख्नुपरेको र अहिले पनि चार जना आईसीयूमै रहेको उक्त अस्पतालका प्रमुखले जानकारी दिएका छन्।

कोभिडबाट बिरामीहरू सिकिस्त भइरहेको भए पनि यो कोरोनाभाइरसको पुरानै भेरिअन्ट हो वा नयाँ भन्ने यकिन गर्न परीक्षण भइनसकेको अधिकारीहरूले बताएका छन्।

कस्ता व्यक्ति सङ्क्रमित ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार कोभिडका कारण सिकिस्त भएर भर्ना हुनेहरू सबैजसो जेष्ठ नागरिक हुन्। ‘उहाँहरू सबैको उमेर ६० वर्षभन्दा माथि नै देखिएको छ र अलि गम्भीर बिरामी भएरै आउनुभएको थियो’, उनले भने, ‘सबैलाई आईसीयूमै राखेर उपचार गर्नुपर्‍यो। केही बिरामी दमजस्ता दीर्घरोगबाट पनि पीडित हुनुहुन्छ।’

डा बसौलाले अस्पतालमा भर्ना भएका बिरामीहरूले पहिले मौसमी रुघाखोकी ठानेर कोभिडको परिक्षण नगरेको पाइएको जानकारी पनि दिए।

‘मौसमी रुघाखोकी भनेर अन्य अस्पताल जाँदा कोभिडको शङ्का गरेर यता पठाइएका बिरामी पनि हुनुहुन्छ’, उनले भने। अस्पतालमा मौसमी रुघाखोकी लागेको भनेर आउने बिरामीहरूको पीसीआर परीक्षण गर्दा कोभिड पुष्टि भइरहेको उनको भनाइ छ।

‘कोभिड भएर यहाँ आएका सबैजसो व्यक्तिमा निमोनिया पनि देखिएकाले उहाँहरू सिकिस्त हुनुभएको हो र अक्सिजन दिएरै उपचार गर्नुपर्ने अवस्था आएको हो,’ उनले भने,

‘जाँच गराइहालौँ’

डा बसौलाले केही सातायता उपत्यकाभित्र धेरै स्थानमा कैयौँ मानिसलाई मौसमी रुघाखोकी लागेको र निको हुन लामो समय लागेको विवरण आइरहेकाले कोभिड समुदायस्तरमा रहेको हुन सक्ने बताए।

‘समुदायमा कोभिड अहिले पनि छँदै छ भन्ने यसले देखाएको छ,’ उनले भने, ‘विशेष गरी उमेर बढी भएका र दीर्घरोगी एवं खोप नलगाएकाहरूलाई कोभिडले सिकिस्त बनाउन पनि सक्छ। त्यसले समयमै परीक्षण गराउनु राम्रो हो’

उनले रुघाखोकी लागेर केही दिनमा पनि निको नभए कोभिड परीक्षण गर्न पनि सुझाव दिए।

उनले खोप नलगाएका वा लगाएर पनि छ महिनाभन्दा बढी भएका व्यक्तिहरूलाई कोभिडको अतरिक्त मात्रा खोप लगाउन आग्रह गरे।

‘हामीले आकस्मिक कक्षमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म फाइजर खोप लगाउने व्यवस्था गरेका छौँ। यो निस्शुल्क हो, त्यसैले खोप लगाउन हामी आह्वान गर्छौँ।’ कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए।

BBC

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय