बालेन शाह भन्छन्– ‘काठमाण्डौ महानगरले कम्पनीहरु खडा गरेर आईपीओ जारी गर्नुपर्छ’

काठमाण्डौ । वैशाखमा ३० मा हुने स्थानीय तह निर्वाचनका लागि काठमाण्डौ महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। काठमाण्डौ महानगरको यसपटकको चुनावमा ठूला दलका नेतालाई मात्र नभएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारलाई पनि बलियो प्रतिस्पर्धीका रुपमा लिँदै आइएको छ।

काठमाण्डौ महानगरको मेयर पदका लागि नेपाली कांग्रेसबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राष्ट्रिय प्रजातन्त्रबाट मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटाको चर्चा हुँदै गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाह पनि उत्तिकै चर्चित नाम बन्न पुगेका छ।

युवाहरुको ठूलो जमातका साथ भएका इन्जिनियर तथा र्यापर ३१ वर्षीय शाहलाई काठमाण्डौ महानगरको मेयरका लागि विभिन्न क्षेत्रका सेलिब्रिटीहरुले खुलेरै साथ दिँदै आएको देखिन्छ। बालेन शाह पुँजी बजारमा लाखौँको संख्यामा नागरिक जोडिएसँगै पुँजी बजार विकास र विस्तारका लागि महानगरले पनि ठूलो भूमिका खेल्न सक्ने बताउँछन्।

शाहले चुनाव चिह्न आएपछि छापिने घोषणापत्रमा पुँजीबजारबारे आफ्नो धारणा राख्नेसमेत बताए। ‘अहिले महानगरको आम्दानीको स्रोत न्यून छ। जस्तै पार्किङबाट उठेको पैसा नै महानगरको मुख्य आम्दानीको स्रोत बन्न पुगेको देखिन्छ’, शाह भन्छन्, ‘काठमाण्डौ महानगर आफैँले पनि पब्लिक लिमिटेड कम्पनीहरु खडा गरेर आईपीओ निष्कासन गर्नु पर्छ। अहिले नागरिक लगानी गर्न इच्छुक छन्। तर लगानी गर्ने ठाउँ छैन। त्यसैले महानगरले कृषिमा कोल्ड स्टोर, यातायातजस्ता कम्पनी खडा गरेर आईपीओ निष्कासन गर्नुपर्छ।’

महानगरले वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्नुपर्ने उल्लेख गर्दै शाह भन्छन्, ‘अहिले लाखौँको संख्यामा नागरिक सेयर बजारमा आबद्ध छन्। तर थोरै संख्यालाई मात्र सेयर बजार के हो ? कसरी लगानी गर्ने ? कस्तो कम्पनी छनौट गर्ने? कति लगानी गर्ने? जोखिम न्यूनीकरण कसरी गर्ने? लगायतको पक्षहरुको ज्ञान भएको देखिन्छ। त्यसैले महानगरले विभिन्न निकायहरुसँग सहकार्य गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्नुपर्छ।’

आफू पनि विगत ४–५ वर्षदेखि सेयर बजारमा लगानी सुरु गरेको उल्लेख गर्दै शाह भन्छन्, ‘सेयर बजार भनेको पुँजी परिचालन गर्ने ठाउँ भएकाले यसको महत्व नागरिक स्तरसम्म महानगरमार्फत पुर्याउन आवश्यक छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय