धरानमा पनि कांग्रेसभन्दा १ हजार ५०९ मतले लौरोनै अगाडी ,

प्रकाश तिम्सिना/सुनसरी, ६ जेठ । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् ।

नेपाली कांग्रेसका किशोर राईले उनलाई ९ हजार ८३० मत ल्याउँदै पछ्याइरहेका छन् । साङपाङ र राईको मतान्तर १ हजार ५०९ छ । त्यसैगरी २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा एमाले भने तेस्रो स्थानमा छ ।

प्रमुख पदमा एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारी स्वतन्त्र र कांग्रेसभन्दा निकै तल देखिएकी छिन् । उनले ८ हजार ७१ मत पाएकी छिन् । उनले पाएको मत स्वतन्त्रको भन्दा ३ हजार २६८ मत कम हो ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार ४२१ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका पदम लिम्बुले १० हजार ९५८ मत ल्याउँदै पछ्याइरहेका छन् । अहिले ११,१२,१३ वडाको गणना भइरहेको छ । बाँकी १५,१६ र १७ को भने बाँकी रहेको धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । उनले धरानको मत परिणाम अबको तीन दिन भित्रमा आइसक्ने समेत बताए ।

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी
नेपालगञ्ज, ६ जेठ (रासस) :नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराउनुभयो । उहाँ २३ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको छ । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाउनुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी हुनुभयो । उहाँले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी हुनुभएको छ । ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा कूल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो । उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो । २३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, कांग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ । बाँकेमा हालसम्म तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । दुई गाउँपालिकामा कांग्रेस र एउटामा गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय