सुदूरपश्चिमलाई देशकाे सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्ताे भन्नुभएकाे हाे । उहाँले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई देशकाे सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणासमेत राख्नुभयो ।

उहाँले भन्नुभयाे, ‘भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण सुदूरपश्चिम प्रदेशको विकास नभएको हो । लगानीको सुरक्षा हुन सकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ । पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ ।’

प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिमकाे विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सो बन्दरगाहले सिधै भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोड्ने र त्यसले सुदूरपश्चिमकाे विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत् परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय